२० औं संस्करणको लेखनाथ महोत्सवमा राखिएको बुद्धको प्रतिमा दर्शकहरुको आर्कषणको केन्द्र बनेको छ।
हरेक संस्करणमा केही न केही नयाँ प्रयोगको माध्यमबाट दर्शकहरुको ध्यान तान्न सफल महोत्सवले यसपटक भने विश्व शान्तिको कामनाका साथ महोत्सव परिसरमा भगवान गौतम बुद्धको आकर्षक प्रतिमा स्थापना गरेको हो।
महोत्सवमा स्थापना गरिएको उक्त प्रतिमाले बालबालिकादेखि वृद्धवृद्धाहरुसम्मको ध्यान खिच्न सफल भएको छ।
प्रतिमासँगै फोटो खिचाउनेदेखि टिकटक बनाउनेसम्मको भिड लाग्ने गरेको छ।
उक्त प्रतिमाका परिकल्पनाकार विश्वगोपाल श्रेष्ठ भन्छन, ‘बुद्धको प्रतिमाले महोत्सवमा दर्शकहरुको ध्यान तान्न त सफल भएको छ नै। त्यसबाहेक धार्मिक सहिष्णुता र विश्व शान्तिको सन्देश पनि प्रवाह गर्न सफल भएको छ।’
झण्डै, ३ लाख ५० हजार रुपैयाँको लागतमा स्वदेशमा नै निर्माण गरिएको उक्त प्रतिमा महोत्सवपपछि पनि लेखनाथमै उपयुक्त ठाउँको खोजी गरेर स्थापना गरिने आयोजकले जनाएको छ।
यसले लेखनाथ क्षेत्रको धार्मिक पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्ने आयोजकको दावी छ।
विहिबारबाट सुरु भएको महोत्सवको दोश्रो दिन शुक्रबार १० हजार दर्शकहरुले अवलोकन गरेका छन्।
त्यस्तै, ३० लाख बराबरको कारोबार भएको महासचिव एवं महोत्सव प्रचार प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिएकी छिन्।
महोत्सवमा शुक्रबार लोकदोहोरी कलाकारहरु रामजी खाँण, सरस्वती लामिछाने, मधु रसाइली, कृष्ण सुवेदी, सविना गुरुङ, केशव देवकोटा, शिवहरी ढुंगाना, उमादेवी खनाल, रमा गौतमले प्रस्तुती दिएका थिए।
बेलुका लाईभ कन्सर्टमा प्रकाश दूतराज र सञ्जीवसिंह रानाले स्टेज तताएका थिए।
शनिबार लोकदोहोरीतर्फ बालचन्द्र बराल, शान्तीश्री परियार, ध्रुव जिसी, तुलसा जिसी, नेत्र खड्का, सरितालगायतको प्रस्तुती रहनेछ।
हाँस्यव्यंग्यतर्फ पवन खतिवडा ‘म्याकुरी’ को प्रस्तुती रहनेछ।
यस्तै बेलुकापख हुने लाईभ कन्सर्टमा रचना रिमाल र सुनिल गिरीको प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ले जानकारी दिएका छन्।
शुक्रबार महिला÷आमा समुहबीच भएको हाँजिरीजवाफ प्रतियोगितामा सरस्वती सामुदायिक महिला समुह सेमिफाइनल चरणमा प्रवेश गरेको छ।
त्यसैगरी, विद्यालयस्तरीय नृत्यतर्फ ३ वटा विद्यालयले प्रस्तुती राखेका छन्।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन्।
प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन्।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराका साथ बिहीबारदेखि महोत्सव सुरु भएको हो।