‘बायु प्रदुषणका कारण दक्षिण एशियाका मानिसहरु प्रभावित बनेका छन्’

वातावरण संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय सन्धि, महासन्धिहरु पारित गरेपनि सरकारले कार्यान्वयन नगरेकोमा अभियन्ताहरुको चिन्ता

जनसम्मत
पौष १९, २०८१, शुक्रबार

वातावरण संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय सन्धि, महासन्धिहरु पारित भएको भएपनि सरकारले त्यसको हालसम्म कार्यान्बयन नगरेकोमा वातावरणका अभियन्ताहरुले चिन्ता प्रकट गरेका छन्।

प्रकृति–मानव केन्द्रित जन अभियानको शुक्रबारदेखि पोखरामा सुरु छैठौं राष्ट्रिय सम्मेलनमा सहभागीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन्।

सम्मेलनको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले सरकारप्रति आक्रोस समेत पोखेका छन्।

अभियानका पूर्व केन्द्रीय अध्यक्ष उत्तम कँडेलले ब्यापक बायु प्रदुषणकाकारण दक्षिण एशिया मानिसहरुका लागि घातक भैरहेको जिकिर गरे।

‘यसरी नै वातावरणमाथि खेलवाड हुँदै गएमा जीवनमाथि पनि संकट पर्नेछ। मानव र प्रकृतिको रक्षाका लागि राज्यबाट मात्र भर पर्न सक्ने अवस्था छैन। प्रकृति र मानवको रक्षाका लागि उपयुक्त नीतिको आबश्यकता छ’, कँडेलको प्रतिक्रिया थियो।

अभियानका उपाध्यक्ष राजन केसीले नेपाल जस्ता साना मुलुकहरुले कार्बनको पीडा भोग्नुपरेको औल्याए।

केसीको गुनासो थियो, ‘नेपाल जस्ता साना मुलुकहरुले थोरै कार्बन उत्सर्जन गरेको भएपनि ठूला र बिकसित देशहरुले ठूलो मात्रामा उत्पादन गरेका कार्बनको पीडा भोग्नु परेको छ। सरकारले विभिन्न खाले सन्धि, महासन्धिहरु पारित गरेको भएपनि मानव र प्रकृति बचाउने खालका कुनै कार्यहरु गरेको छैन। राज्यले वातावरण संरक्षणक पक्षमा कुनै काम नगरेको अवस्थामा अब जनता र निजी क्षेत्र प्रकृति र मानवको रक्षाका लागि लाग्नुपर्छ।’

शनिबारसम्म चल्ने उक्त सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ।

वातावरण तथा प्रकृति संरक्षण सम्बन्धमा बिबिध प्रस्ताबहरु पारित गर्ने अभियानका पूर्व अध्यक्ष सन्तबहादुर घिसिङले जानकारी दिएका छन्।

सम्मेलनको उद्घाटनपूर्व शुक्रबार बिहान अभियानले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको थियो।