स्वास्थ्य बीमा रकम १ लाखबाट ५ लाख पु-याउने ! तर, स्रोत खोइ ?

विज्ञ टोलीले शुक्रबार मात्रै यस सम्बन्धमा सुझाव प्रतिवेदन बुझाएको छ

जनसम्मत
पौष २०, २०८१, शनिबार

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य बीमा रकम १ लाख रुपैयाँबाट ५ लाख पु-याउन स्रोतको खोजी भइरहेको बताएका छन्।

बनेपामा शुक्रबार नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा आयोजित ३४ औँ केन्द्रीय सभाको उद्घाटन गर्दै मन्त्री पौडेलको भनाई थियो, ‘बीमा रकम ५ लाख पु-याउन विज्ञसहितको सुझाव समिति गठन गरिएको छ। विज्ञ टोलीले आज मात्रै सुझाव प्रतिवेदन बुझाएको छ। त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने तरखरमा अघि बढ्नेछौँ।’

उनले स्वास्थ्य मन्त्रालयले गर्न सक्ने विषयमा सरकारले निर्णय गरेर कार्यान्वयन गर्ने औंल्याए।

‘क्यान्सरलगायत जटिल रोग लागेका नागरिकलाई ठूलो राहत पुग्ने विश्वास गरेका छौँ। कार्यान्वयन गर्ने अठोट पनि लिएका छौँ’, मन्त्री पौडेलले सुनाए।

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा अन्य सुधारका कार्यक्रम ल्याएको उल्लेख गरे।

उनले प्रष्ट पारे, ‘बीमाको ट्रेजरी झण्डै १ खर्ब रुपैयाँको बनाउने विषयमा कुन क्षेत्रबाट कसरी बनाउने भन्ने प्रष्ट व्यवस्था गरिएको स्थिति छ। स्वस्थ कर कोष ६ अर्ब रुपैयाँको छ। त्यसलाई १८ अर्ब रुपैयाँ बनाउनेबारे प्रस्ताव गरिएको छ।’

मन्त्री पौडेलले क्यान्सर लागेकाले आफ्नै प्रदेशमा ‘केमो’ सेवा लिन सक्नेगरी सेवा विस्तार गरेको उल्लेख गरे।

मन्त्रालयले विभिन्न संस्थासँग मिलेर निरोगीताका लागि नागरिक आफैँले के गर्न हुने/नहुने भन्नेबारे ‘निरोधात्मक चेतना विस्तार अभियान’ संचालन गर्ने उनले जनाए।