डा. सन्दुक रुइत यस वर्षको श्रीपती समाजसेवा पुरस्कार–२०८१ बाट पोखरामा सम्मानीत भएका छन्।
श्रीपती कोइराला गुठी पोखराको ३२ औं वार्षिक साधारण सभा अवसरमा गुठीद्वारा संचालित सो पुरस्कारबाट पोखरमा शनिबार डा. रुइतलाई सम्मान प्रदान गरिएको हो।
पुरस्कार राशि नगद २ लाख २२ हजार २२२ रुपैयाँसहित दोसल्ला, सम्मानपत्र र पदक रहेको छ ।
‘दृष्टिका देवता’ समेत भनेर चिनिने डा. रुइत तीलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी निर्देशक हुन्।
कम लागतमा मोतियाबिन्दुको उपचारका लागि विश्वविख्यात चिकित्सा पद्धति सुरुवातकर्ता समेत रहेका डा. रुइतले हालसम्म १ लाख ३० हजारभन्दा बढी मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गरेर दृष्टि फर्काइसकेका छन्।
बहराइन सरकारबाट दृष्टिका संवाहक उपाधिसहित ईशा अवार्ड पाएका डा. रुइतले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार, भारतको पद्मश्री पुरस्कार, फिलिपिन्सको रोमन म्यागासेसे पुरस्कार, थाइल्यान्ड, भुटानलगायतका मुलुकहरुबाट विविध पुरस्कार पाइसकेका छन्।
यसअघि, यो पुरस्कारबाट मानव बेचबिखनविरुद्धको क्षेत्रमा काम गर्ने संस्था ‘माइती नेपाल’, महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र, सर्लाहीको पद्म भुवनेश्वरी नमुना वृद्ध सेवा आश्रम र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई पुरस्कृत गरिसकिएको छ।
डा. रुइतले सम्मानले आफूलाई जिम्मेवार बन्दै थप समाजसेवाका लागि अभिप्रेरित गरेको बताए।