पत्रकार सन्तोष गौतमलाई कृष्णसेन मदन स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रेस सेन्टर म्याग्दीले ९ वर्षअघि कृष्णसेन मदन स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको हो

जनसम्मत
पौष २०, २०८१, शनिबार

म्याग्दीका क्रियाशील पत्रकार सन्तोष गौतमलाई कृष्णसेन मदन स्मृति क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।

प्रेस सेन्टर नेपाल म्याग्दी शाखाको शनिवार बेनीमा सम्पन्न पाँचौ जिल्ला सम्मेलनको अवसरमा पत्रकार गौतमलाई ७ हजार रुपियाँ नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो।

प्रेस सेन्टर म्याग्दीले ९ वर्षअघि कृष्णसेन मदन स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको थियो।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारी, पुरस्कार कोषका संरक्षक विनोद केसी, नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका अध्यक्ष शेरबहादुर केसी, प्रेस सेन्टरका केन्द्रीय उपमहासचिब एवं गण्डकी प्रदेश इन्चार्ज दिपक श्रेष्ठ, प्रदेश अध्यक्ष अर्जुन काफ्लेलगायतले गौतमलाई पुरस्कार प्रदान गरे।

विगत डेढ दशकदेखि म्याग्दीको पत्रकारितामा सक्रिय रहेका गौतम रासस र अन्नपूर्ण पोष्ट दैनिकमा आबद्ध छन्।

पत्रकार गौतम, बेनीबाट प्रकाशित हुने रिखार दैनिक र धौलागिरि खवर अनलाइनका प्रकाशक छन्।

हरेक ३ बर्षमा प्रदान गरिने यस पुरस्कार यसअघि कमल खत्री, घनश्याम खड्का, ठाकुरप्रसाद आचार्य र धिरन खत्रीलाई प्रदान गरिएको थियो।