खेलकुद पत्रकार मञ्च, गण्डकीको तेस्रो अधिवेशन माघ १० मा

अधिवेशनमा सहभागी बन्न मञ्चमा आवद्ध सदस्यले माघ ७ गतेभित्र सदस्यता नवीकरण गर्नु पर्नेछ

जनसम्मत
पौष २१, २०८१, आइतबार

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको तेस्रो अधिवेशन आगामी माघ १० गते (बिहीबार) हुने भएको छ।

मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा आज (आइतबार) पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको कार्यसमितिको ४६ औं बैठकबाट अधिवेशनको मिति तय गरिएको महासचिव राजाराम पौडेलले जानकारी दिएका छन्।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

मञ्चमा ७४ जना खेलकुद बिटमा कलम चलाउने खेलकुद पत्रकारहरु आवद्ध छन्।

अधिवेशनमा सहभागी बन्न मञ्चमा आवद्ध सदस्यले माघ ७ गतेभित्र सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था तोकेको छ।

सदस्यता नवीकरणको लागि संयोजन गर्ने जिम्मेवारी कोषाध्यक्ष कविता घर्तीमगरलाई दिइएको महासचिव पौडेलले बताए।

मञ्च गण्डकीले ५ औं साधारणसभा तथा विधान अधिवेशनमार्फत विधान संशोधनसहित जिल्ला शाखा तथा समन्वय शाखा गठन, सदस्यता प्रदान, शुद्धिकरण, नवीकरणलगायतका विषयमा मापदण्ड बनाएको थियो।

विधान संसोधनपश्चात मञ्च गण्डकीको कार्यसमितिको कार्यकाल ३ वर्षबाट २ वर्षमा छोटिएको छ।

सदस्यताको हकमा समेत केही मापदण्ड तय गरिएको छ।

विधान संसोधन गर्दा कार्यसमितिमा समावेशी उपाध्यक्ष र १ जना पदाधिकारी थप गरेर १३ सदस्यीय बनाइएकोले सोहीअनुसार नयाँ नेतृत्व चयन गरिने महासचिव पौडेलले जनाए।

मञ्चका अध्यक्ष बरालले अधिवेशनलाई भव्य बनाउन तयारी सुरु गरिएको बताए।

अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेगरी तयारी भैरहेको उनले खुलाए।

अध्यक्ष बरालले सबैको साथका कारण आफ्नो नेतृत्वको कार्यसमितिको ३ वर्षे कार्यकाल सफल रहेको सुनाए।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समाचार सामाग्रीको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषदले मञ्चलाई दिनु र प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निभाउनुलाई मञ्च गण्डकीको सिंगो टिमको महत्वपूर्ण उपलब्धी अध्यक्ष बरालले मानेका छन्।

यसका अलावा खेल पत्रकारलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने हेतुले अक्षयकोषको स्थापनाको सुरुवात बराल नेतृत्वको टिमले गरेको छ।

विभिन्न कारणले अपेक्षाकृत रकम संकलन हुन नसकेपनि अधिवेशनको दिनसम्ममा केही रकम थप्न पहल गर्ने प्रतिवद्धता उनको छ।

मञ्चले खेल पत्रकारको क्षमता अभिवृद्धिको लागि तालिम, नयाँ सदस्यता थपलगायत खेल क्षेत्रमा कलम चलाउने पत्रकारको हकहित र सहयोगको काम गरिरहेको अध्यक्ष बरालको भनाई छ।

सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यमा समेत मञ्च उतिकै सक्रिय छ।

मञ्चले हरेक वर्ष भव्य समारोहबीच आयोजना गर्ने पोखरा स्पोट्र्स अवार्डले खेल क्षेत्रमा अगाडि बढ्नेलाई उत्प्रेरणा दिने कार्य मात्र नगरी मञ्चप्रतिको आकर्षण बढाएको छ।

अध्यक्ष बरालले मञ्चमा आवद्ध सबै सदस्यलाई समयमै सदस्यता नवीकरण गरेर मञ्चको तेस्रो अधिवेशन सफल बनाउने कार्यमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका संपूर्ण खेलकुद पत्रकारको साझा संस्था हो।

यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो।

देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकी प्रदेशका रुपमा स्तरोन्नती गर्दै २०७५ सालमा स्वायत्त संस्थाको रुपमा विकास गरिएको हो।