लेखनाथ महोत्सवको तेस्रो दिन (शनिबार) दर्शकको लोभलाग्दो भिड

२५ हजार दर्शकहरुले महोत्सवको अवलोकन गरे, १ करोड बराबरको कारोबार

जनसम्मत
पौष २०, २०८१, शनिबार

२० औं संस्करणको लेखनाथ महोत्सव सुरु भएको तेस्रो दिन (शनिबार) दर्शकहरुको लोभलाग्दो भिड बढ्यो।

शनिबार बिदाको दिन समेत परेकाले महोत्सवमा अवलोकन गर्ने दर्शकहरुको संख्यामा उल्लेख्य वृद्धि भयो।

महोत्सवको तेश्रो दिन शनिबार २५ हजार दर्शकहरुले अवलोकन गर्नुका साथै १ करोड बराबरको कारोबार भएको महासचिव एवं महोत्सव प्रचार–प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन्।

महोत्सवमा शनिबार लोकदोहोरीतर्फ बालचन्द्र बराल, शान्तीश्री परियार, ध्रुव जिसी, तुलसा जिसी, नेत्र खड्का, सरितालगायतका कलाकारहरुले प्रस्तुती दिए।

हाँस्यव्यंग्यतर्फ पवन खतिवडा ‘म्याकुरी’ को बेजोड प्रस्तुतीले दर्शकहरुलाई मनोरञ्जन प्रदान ग-यो।

यस्तै, साँझको लाइभ कन्सर्टमा रचना रिमाल र सुनिल गिरीको प्रस्तुतीले स्टेज ततायो।

विद्यालयस्तरीय नृत्यतर्फ त्रिवेणी पब्लिक मावि पोखरा–२७, एपेक्स प्रि स्कुल पोखरा–३० र लेकसिटी एकेडेमी मण्टेश्वरी पोखरा–२६ ले नृत्य प्रस्तुत गरे।

महोत्सवमा आइतबार लोकदोहोरी कलाकारहरु श्याम राना, भुमिका गिरी, शंकरविरही गुरुङ, बिन्दा परियार, टेक क्षत्री, कमला गैह्रे, शिवहरी ढुंगाना र उमादेवी खनालको प्रस्तुती रहने बताइएको छ।

साँझ लाइभ कन्सर्टमा सहिमा श्रेष्ठ, सन्तोष बस्याल र -यापर शुसिलको प्रस्तुती रहनेछ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सुरु महोत्सवको उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सह–आयोजक रहेका छन्।

पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड महोत्सवको प्रवर्द्धक रहेका छन्।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ लेखनाथ महोत्सवको मूल नारा रहेको छ।