लेखनाथ महोत्सवमा हाँजिरीजवाफ प्रतियोगिताले रौनकता थप्दै

हाँजिरीजवाफ प्रतियोगितामा ३२ टिमको सहभागिता छ

जनसम्मत
पौष २१, २०८१, आइतबार

आमा तथा महिला समुहबीच हाँजिरीजवाफ प्रतियोगिताले कास्कीको लेखनाथमा जारी २० औ संस्करणको लेखनाथ महोत्सवमा माहोल बढाएको छ।

हाँजिरीजवाफमा सोधिने महिला हक, अधिकार, कानुनका र समसामयिक प्रश्नमा उनीहरुको जवाफले महोत्सवको माहोल निकै रोचक बन्ने गरेको छ।

कुनैबेला आउने अप्रत्यासित जवाफ र झटारो जवाफले कार्यक्रम झनै रोचक बन्दै गएको छ।

घरमा आफना बाबु नानीहरुको गृहकार्य सिकाउन ब्यस्त हुने आमाहरु अहिले महोत्सवमा आयोजित आमा तथा महिला समुहबीचको हाजिरीजवाफ प्रतियोगितामा सहभागी बनेर साँझ विहान त्यसको तयारीमा समेत जुट्ने गरेका छन्।

महिलाहरुलाई गीत, संंगीत र रत्यौलीमामात्र सीमित नराखी उनीहरुमा रहेको अन्र्तनिहित क्षमताको विकास गराउँदै र मौलिक ज्ञानका बारेमा जानकारी गराउने उद्देश्यले पहिलो पटक अन्तर महिला तथा आमा समुहकाबीचमा हाँजिरजवाफ प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता ब्यवस्थापन उप समितिकी संयोजक प्रभाकुमारी लामिछानेले बताइन्।

लामिछानेले भनिन, ‘आयोजित प्रतियोगिताबाट आमा/महिलाहरुमा पनि समसामयिक विषयको जानकारी हुँदो रहेछ भन्ने देखियो। सवाल जवाफको प्रतियोगितामा महिला मित्रहरुले खुलेर सहभागी जनाउनु भयो। यो नै हाम्रो लागि गर्वको विषय बनेको छ।’

प्रतियोगितामा ३२ टिमको सहभागिता छ।

सहभागी समुहमध्येबाट प्रत्येक दिन ४ समुहकाबीच प्रतिस्पर्धा गरी अन्तिम ४ समूहले फाइनलमा प्रवेश गर्नेछन्।

सहभागी समुहहरुलाई विषयगत प्रश्नदेखि महिलाहरुको दैनिकी दिनचर्याका विषयवस्तु, धर्म, संस्कृती, साहित्य, स्थानीय निकाय, स्थानीय सेरोफेरो र लेखनाथ उद्योग बाणिज्य संघसँग सम्वन्धी प्रश्न तयार गरिएको छ।

अहिलेसम्म २४ समुहबीच प्रतिस्पर्धा भइसकेको छ।

प्रतियोगिताबाट सेमिफाइनलमा प्रवेश गरेका ४ समुहबीच हुने फाइनल चरणको प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा विजेता समुहले २५ हजार रुपैयाँ, उपविजेता समुहले २० हजार, तेस्रो हुने समुहले १५ हजार र सान्त्वना हुने समुहले १० हजार र वाँकी ४ समुहले ५÷५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

आइतवारसम्म भएको प्रतिस्पर्धामा सरस्वती सामुदायिक महिला समहु पोखरा ३३, समाज सुधार आमा समुह पोखरा २९ र सृजना महिला समुह पोखरा २६ अन्तिम ४ मा प्रवेश गरेका छन्।

महोत्सवको चौथो दिन (आइतवार) ७ हजार दर्शकहरुले अवलोकन गरेको आयोजकले बताएको छ।

त्यसैगरी, २० लाख बराबरको आर्थिक कारोबार भएको महासचिव एवं महोत्सव प्रचार–प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिएकी छन्।

महोत्सवमा आइतबार लोकदोहोरी कलाकारहरु श्याम राना, भुमिका गिरी, शंकरविरही गुरुङ, बिन्दा परियार, टेक क्षत्री, कमला गैह्रे, शिवहरी ढुंगाना र उमादेवी खनाललगायतका कलाकारहरुले प्रस्तुती दिए।

साँझको लाइभ कन्सर्टमा सहिमा श्रेष्ठ, सन्तोष बस्याल र र्यापर शुसिलले प्रस्तुती दिए।

सोमबार, लोकदोहोरी कलाकारहरु शिव हमाल, चोलेन्द्र पौडेल, वसन्त वि.क, अस्मिता डल्लाकोटी, पार्वती गुरुङ, नविना सुवेदी हाँस्यकलाकार सुन्दर खनाल (नट्टी वावा) लगायतका कलाकारहरुले प्रस्तुती दिनेछन्।

बेलुकाको लाइभ कन्सर्टमा जेम्सी र्यापरको प्रस्तुती रहने आयोजकले जनाएको छ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सुरु महोत्सवमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सह–आयोजक रहेका छन।

त्यसैगरी, पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड महोत्सवको प्रवर्द्धक रहेका छन्।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ लेखनाथ महोत्सवको मूल नारा रहेको छ।