‘ताप्लेजुङ संचार स्मारिका’ सार्वजनिक

ताप्लेजुङको पत्रकारितामा आवद्ध २९ जना पत्रकारको विचार र अनुभूतिका लेखहरु पुस्तकमा समेटिएका छन्

जनसम्मत
पौष २०, २०८१, शनिबार

नेपाल पत्रकार महासंघ, ताप्लेजुङ शाखाले प्रकाशन गरेको ‘ताप्लेजुङ संचार स्मारिका’ सार्वजनिक गरिएको छ।

ताप्लेजुङको पत्रकारिता क्षेत्रकै एक दस्तावेजका रुपमा प्रकाशित ‘ताप्लेजुङ संचार स्मारिका’ सार्वजनिक गरिएको हो।

नेपाल पत्रकार महासंघ, ताप्लेजुङ शाखाको नयाँ कार्यसमितिको पदस्थापना तथा सपथ कार्यक्रममा आज (शनिबार) पुस्तक सार्वजनिक (विमोचन) गरिएको हो।

प्रतिनिधिसभा सदस्यहरु योगेशकुमार भट्टराई, लीलादेवी बोखिम र उर्मिला थेबेलगायतले संयुक्तरुपमा संचार स्मारिकाको सार्वजनिक गरेका हुन्।

स्मारिका सार्वजनिकसँगै पत्रकार महासंघ, ताप्लेजुङ शाखाको नवनिर्मित कार्यालय भवनको उद्घाटनसमेत गरिएको छ।

प्रतिनिधिसभा सदस्य भट्टराईले स्मारिका सार्वजनिक गर्दै ताप्लेजुङको पत्रकारिता क्षेत्रको इतिहास तथा ऐतिहासिक दस्तावेज हुने औंल्याए।

उनले भने, ‘संचार स्मारिका ताप्लेजुङको पत्रकारिता क्षेत्रको इतिहास तथा ऐतिहासिक दस्तावेज हुनेछ। जिल्लाको पत्रकारिता गतिविधि साथै समग्र पत्रकारिता बुझ्नलाई भावी पुस्ताका पत्रकारका लागि स्मारिका एक ऐतिहासिक दस्तावेज बन्नसक्छ।’

पत्रकार महासंघ जिल्ला शाखाले प्रकाशित गरेको पुस्तकमा शाखा स्थापना कालदेखि हालसम्म भएका गतिविधि समेटिएको आलेख तथा अनुभूतिका लेखहरु प्रकाशित छन्।

विगतदेखि हालसम्म जिल्लामा रहेर पत्रकारितामा आवद्ध २९ जना पत्रकारको विचार र अनुभूति लेखहरु पुस्तकमा समेटिएका छन्।

स्मारिकामा जिल्लामा विगतदेखि हालसम्म संचालित विद्युतीय र छापा संचारमाध्यमका विवरण, जिल्लाको पत्रकारिता विकासका लागि गर्न खोजिएका प्रयास, पहल, प्रयत्न र अन्य गतिविधिबारे संक्षिप्त विवरणसमेत समेटिएको छ।