पत्रकार दिपक उपाध्याय रक्तदानका सद्भावना दूत

धनगढीका पत्रकार उपाध्यायले हालसम्म १०७ पटक रक्तदान गरिसकेका छन्

जनसम्मत
पौष २१, २०८१, आइतबार

पत्रकार दीपक उपाध्याय रक्तदान सद्भावना दूतमा नियुक्त बनेका छन्।

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै पटक रक्तदान गरेका रक्तदाता उपाध्याय सद्भावना दूत बनेका हुन्।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पत्रकार उपाध्यायलाई रक्तदान सद्भाव दूत नियुक्त गरेको हो।

धनगढीमा आज (आइतबार) निःशुल्क रक्त सेवा शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले सम्मानसहित उपाध्यायलाई रक्तदान सद्भावना दूत नियुक्त गरेका हुन्।

धेरै वर्ष अघिदेखि पत्रकार उपाध्यायले बिरामीहरुलाई रगत उपलब्ध गराउने कार्यमा सहयोग गर्दै आएका छन्।

यसैगरी, उपाध्यायले रक्तदान कार्यक्रम संचालन, प्रवर्द्धन र विभिन्न संघसंस्था, व्यक्तिलाई रक्तदान गर्न उत्प्रेरणा प्रदान गर्दै आएका छन्।

धनगढी निवासी पत्रकार उपाध्यायले हालसम्म १०७ पटक रक्तदान गरिसकेका छन्।

धनगढी क्षेत्रका धेरैजसो बिरामीका आफन्तले रगत आवश्यक पर्नेबित्तिकैे पत्रकार उपाध्ययलाई सम्पर्क गर्ने गरेका छन्।