प्यासिफिक एशिया ट्राभल्स एशोसिएसन(पाटा) नेपाल च्याप्टरको आयोजनामा पर्यटन राजधानी पोखरामा आगामी फेब्रुुअरी २४ देखि २६ सम्म हुन लागेको नेपाल इन्डिया चाइना एक्स्पो (नाइस) कार्यक्रमलाई लक्षित गरी पाटा नेपाल च्याप्टर र पोखरा पर्यटन परिषद्बीच आज (मंगलबार) सम्झौता–पत्रमा हस्ताक्षर गरिएको छ।
पाटा नेपालले परिषद्सहित नेपाल पर्यटन बोर्ड, अन्य प्रमुख सार्वजनिक तथा निजी क्षेत्रका साझेदार तथा स्थानीय, प्रदेश, राष्ट्रिय र क्षेत्रीयस्तरका सरोकारवालाहरूसँगको सहकार्यमा गर्न लागेको एक्स्पोका सन्दर्भमा पाटा नेपालका तर्फबाट महासचिव नरेन्द्रदेव भट्ट र पोखरा पर्यटन परिषद्का तर्फबाट परिषद्का अध्यक्ष तारानाथ पहारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सरोकारवाला व्यक्ति एवं निकायको आपसी अनुभवहरूको आदान–प्रदानका साथै नेटवर्किङ र व्यापार अवसरहरूको सुविधाको लागि एक्स्पो महत्वपूर्ण प्लेटफर्म हुने सम्झौता–पत्रमा उल्लेख छ।
तीन छिमेकी राष्ट्रहरू नेपाल, भारत र चीनका सार्वजनिक तथा निजी क्षेत्रका पर्यटन व्यवसायी एवं सरोकारवाला संस्थाहरूलाई एकै ठाउँमा सहभागी गराउँदै व्यवसायिक साझेदारीलगायतका विषयमा छलफल गर्ने उद्देश्यका साथ एक्स्पो गर्न लागिएको सम्झौता–पत्रमा भनिएको छ।
दुई उदीयमान अर्थतन्त्र र पर्यटनका केन्द्र जस्तै रहेका भारत र चीनलाई एकै ठाउँमा ल्याएर नेपालसँगको पर्यटन संभाव्यता र व्यवसायिक अवसरहरूलाई प्रवद्र्धन गर्नु एक्स्पोको मुख्य उद्देश्य हुने भनिएको छ।
कार्यक्रमले मुख्यतया पर्यटन र आतिथ्यताको क्षेत्रमा ३ देशबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत गर्ने उल्लेख गरिएको छ।
नेपाल रणनीतिक रूपमा विश्वका २ ठूला अर्थतन्त्रहरूको बीचमा अवस्थित रहेको र यसले यी राष्ट्रहरूको पर्यटन संभावनालाई उजागर गर्न पूलको रुपमा काम गर्ने विश्वास लिइएको छ।
यी देशहरूबीच द्विपक्षीय व्यापार पहलहरू राम्रोसँग स्थापित भएपनि यो त्रि–राष्ट्रिय कार्यक्रमले नयाँ र आशाजनक अवसर प्रस्तुत गर्ने भनिएको छ।
सम्झौता–पत्रअनुुसार पाटा नेपाल च्याप्टरले संगठन साझेदारको रूपमा स्वीकृति समाचारपत्रहरू, प्रत्यक्ष इमेलहरू, मार्केटिङ सन्देशहरू र आधिकारिक नाइस वेबसाइटमा प्रमुख रूपमा चित्रित गर्नेछ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय संचारमाध्यममा प्रेस विज्ञप्तिको वितरणमार्फत प्रचार, साथै पाटा च्याप्टर्स नेटवर्कभित्र पोखराको विविध पर्यटनका आयामको प्रदर्शन र प्रवद्र्धन गरिनेछ।
त्यस्तै, परिषद्का तर्फबाट कार्यक्रमको लागि स्थानीय पर्यटन अधिकारीहरू, सरोकारवालाहरू, प्रायोजकहरू, र साझेदारहरूसँग आवश्यक समन्वय गरिनेछ।
परिषद्का न्यूजलेटरहरू, सामाजिक सञ्जाल र अन्य मिडिया प्लेटफर्महरूमार्फत एक्स्पोका लागि मार्केटिङ र प्रवद्र्धनका काम गरिनेछ।
कार्यक्रमका अतिथि र प्रतिनिधिहरूलाई स्वागत गर्न सहयोगलगायतका विभिन्न कामहरू गरिने सम्झौता–पत्रमा उल्लेख छ।
पोखरामा हुन लागेको एक्स्पोले पर्यटन राजधानी पोखरासहित समग्र नेपालको पर्यटकीय गतिविधि अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने परिषद्का अध्यक्ष पहारीले विश्वास व्यक्त गरे।