अब, प्रतिबन्धित भिटामिन र खनिजमिश्रित औषधी बिक्री गरे कारबाहीको भागिदार बन्नुपर्ने हुन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधी व्यवस्था विभागले प्रतिबन्धित भिटामिन र खनिजमिश्रित औषधि बिक्री वितरण गरेको पाइए कारबाही गर्ने जनाएको छ।
विभागले औषधीपुरक सामग्री बिक्री वितरणसम्बन्धी सूचना निकालेर विभागमा दर्ता नभएका र नेपाल सरकारबाट प्रतिबन्धित औषधि बिक्री वितरण भइरहेको पाइएकाले यस्ता औषधी बिक्री वितरण अविलम्ब रोक्न आग्रह गरेको हो।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागको स्वीकृतिविना आयात भएका यस प्रकारका औषधीको सुरक्षा, गुणस्तरीयता र मूल्य सार्थकता यकिन नहुने हुँदा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिम भएको बताका छन्।
विभागमा दर्ता भएका औषधीसँगको सक्रिय तत्व र ‘ब्रान्ड’ सँग दुरुस्त मिल्दोजुल्दो हुने र देखिने गरी न्युट्रास्युटिकल्स तथा सौन्दर्य प्रशोधनका नाममा विभागमा दर्ता नै नगरी आयात गरी औषधी पसलमार्फत उपलब्ध गराउँदा चिकित्सक, स्वास्थ्यकर्मी र बिरामीमा भ्रम सृजना भएको विभागले जनाएको छ।