पोखरामा थप अर्को साहसिक खेल स्काई डाइभिङ सुरु गरिएको छ।
पोखराको आकासमाथिबाट नेपाली प्रशिक्षकहरूले नै स्काई डाइभिङ सुरु गरेका हुन्।
विभिन्न मुलुकमा स्काई डाइभिङमा काम गरी अनुभव लिइसकेका नेपाली युवाहरूले स्काई डाइभिङ थालेका हुन्।
यसअघि, विदेशी प्रशिक्षकले डाइभिङ गराउँदै आएको भएपनि यस पटक भने नेपाली टोलीले मात्रै स्काई डाइभिङ गराउन सफल भएका छन्।
सिम्रिक एयर र इन स्काई डाइभ कम्पनीले पोखरामा स्काई डाइभिङ सुरु गरेका हुन्।
शुक्रबार देखि २१ जनवरीसम्म स्काई डाइभिङ हुने इन स्काई डाइभ कम्पनीका संचालक तथा प्रशिक्षक एलिश थापाले जनाएका छन्।
यस अवधिमा स्काई डाइभिङ गर्नका लागि कम्पनीले भीआइपी र डिलक्स गरी २ वटा प्याकेज बनाएको थापाले बताए।
भीआइपीको १ लाख १५ हजार रूपैयाँ र डिलक्सको ९५ हजार रूपैयाँ पर्ने उनले जानकारी दिए।
स्काई डाइभका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाई १५ दिनको अनुमति दिएको छ।
स्काई डाइभका लागि पोखरा विमानस्थलबाट हेलिकप्टर उडान गरी पोखरा–२३ लौराकको १३ हजार फिट आकास माथिबाट डाइभ गर्नेछन्।
माथिबाट डाइभ गरेका मानिस लौरुकको फाँटमा उत्रिनेछन्।
थापाका अनुसार, यो कार्यक्रमपछि यात्रुको माग आएमा कम्पनीले नियमित रुपमा स्काई डाइभिङ गराउने योजना बनाएको छ।
एलिसलाई सुवास थापा, मनिष हिराचन, आशिष थापा र नेपालको पहिलो महिला स्काई डाइभर यसोदा केसीले साथ दिएका छन्।
विश्वभरका साहसिक पर्यटकसामु नेपालको प्राकृतिक सुन्दरतालाई पु¥याएर उनीहरुलाई यहाँ आकर्षित गर्ने एकमात्र उद्देश्य रहेको थापाको भनाई छ।