यस्तो छ, नवनिर्वाचित अध्यक्ष बरालको प्रतिबद्धता

३ वर्षे कार्यकालमा केही नविन कामहरु गरेरै प्रेस सेन्टर कास्कीलाई ससक्त, प्रभावकारी र चलायमान बनाइनेछ

जनसम्मत
पौष २७, २०८१, शनिबार

दीननाथ बरालले प्रेस सेन्टर कास्कीको नवनिर्वाचित कार्यसमितिको नेतृत्व सम्हालेका छन्।

प्रेस सेन्टर नेपाल, कास्कीको शनिबार पोखरामा सम्पन्न छैटौं अधिवेशनले बरालको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत गठन गरेको छ।

नव निर्वाचित सिंगो कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले शनिबार नै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

प्रेस सेन्टर नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मिलन ज्ञवालीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्।

अध्यक्षमा निर्वाचित बरालले पदभारसमेत ग्रहण गरेका छन्।

पदभार ग्रहणपछि बरालले आफ्नो कार्यसमितिले आगामी ३ वर्षमा संगठनलाई चलायमान बनाउन केही प्रतिबद्धताहरु जनाएका छन्।

प्रेस सेन्टर कास्कीको ३ वर्षे कार्यकालमा नविन कामहरु गर्ने बरालले प्रतिबद्धता जनाएका छन्।

‘संगठनको छैटौं अधिवेशनसम्म आउँदा हाम्रा केही साथीहरु छुट्नुभएको हुनसक्छ, आगामी दिनमा छुटेका सबै साथीहरुलाई संगठनमा गोलवन्द गर्दै उहाँहरुलाई जिम्मेवारी दिनेछौं। यो, युग, डिजिटल युग हो। संगठनमा आबद्ध साथीहरुलाई समयसापेक्ष सूचना प्रविधिअनुसार हिँडाउनुपर्ने जिम्मा यो कार्यसमितिमाथि छ। प्रेस सेन्टरका साथीहरुलाई वृत्ति विकास गराउनुपर्ने जिम्मा हामीमाथि छं। अबको ३ महिनाभित्र संगठनमा आवद्ध सबै साथीहरुलाई सहभागी गराएर एउटा मोबाइल जर्नालिजमको तालिम आयोजना गर्नेछौं।’

संगठन विभागको जिम्मा नवनिर्वाचित सचिव सरोज अधिकारीलाई दिने बरालले बताए।

कृष्ण दवाडी नेतृत्वको निवर्तमान कार्यसमितिले ल्याएको कार्ययोजनालाई यो कार्यसमितिले पूरा गर्ने उनले प्रतिबद्धता जनाएका छन्ं।

संगठनलाई ससक्त र प्रभावकारी बनाउने कार्यमा सिंगो कार्यसमिति लाग्ने बरालको प्रतिबद्धता छ।

‘नेकपा माओवादी कास्कीका नेतृत्व तह र संगठनका अग्रजहरुकै बीचमा हामी हुनेछौं। संगठनलाई प्रभावकारी रुपमा चलायमान बनाउन अग्रजहरुका सल्लाह सुझावको अपेक्षा गर्दछौं।’

प्रेस सेन्टर कास्कीमा आवद्ध सबै साथीहरुको परिचय खुल्ने डाटासहितको अद्यावधिक यो कार्यसमितिले गर्ने बरालले जनाए।

‘संगठनमा आवद्ध सबै साथीहरुको नाम वतन खुल्ने डाटासहितको अद्यावधिक गर्नेछौं। को साथी, कहाँ बस्नुहुन्छ ? कुन मिडियामा काम गरिरहनु भएको छ ? यदि, कोही साथीहरु मिडियामा जोडिनु भएको छैन भने पनि उहाँहरुलाई कुनै न कुनै मिडियामा जोड्ने हाम्रो प्रयास रहनेछ।’