लेखनाथ महोत्सव सफलतातर्फ उन्मुख बन्दै

महोत्सवमा हालसम्म २ लाख २० हजार दर्शकको अवलोकन, ६ करोड ९५ लाखको कारोबार

जनसम्मत
पौष २८, २०८१, आइतबार

दर्शकहरुको साथ र सहभागिताले २० औं संस्करणको लेखनाथ महोत्सव सफलतातर्फ उन्मुख भएको आयोजकले दावी गरेका छन्।

महोत्सवको ११ औं दिनसम्म आइपुग्दा हरेक दिन दर्शकको उल्लासमय उपस्थिति र उत्साहजनक कारोबार भएको भन्दै महोत्सव सफलतातर्फ अगाडी बढेको आयोजकको दावी छ।

महोत्सवको ११ दिनसम्म आइपुग्दा हरेक दिन दर्शकहरुको भीडभाड उत्तिकै देखिएको भन्दै महोत्सव आयोजक मुल समितिका संयोजक विनोद श्रेष्ठले भने, ‘महोत्सवको एघारौं दिनसम्म आइपुग्दा महोत्सव सफलतातर्फ उन्मुख भएको देखिएको छ। दर्शकहरुको उत्साहजनक सहभागिताले आयोजकलाई उत्साहित बनाएको छ।’

महोत्सव सफल पार्न यहाँका व्यापारी व्यवसायी तथा आम सर्वसाधारण र सरोकारवालाको महत्वपूर्ण भुमिका रहेको श्रेष्ठले बताए।

‘महोत्सवमा राखिएको स्थानीय उत्पादन तथा कृषिका स्टलहरुमा पनि दर्शकहरुले निकै चासो राखेको पाइएको छ’, अध्यक्ष श्रेष्ठको भनाई छ।

महोत्सवका सहसंयोजक राजेन्द्र ओझलाले समग्र महोत्सवमा रहेका गतिविधिहरुप्रति दर्शकहरुले निकै रुची र चासो देखाएको औंल्याए।

‘बालबालिकादेखि बृद्धबृद्धासम्मको लागि मनोरञ्जन लिने एउटै साझा मञ्च लेखनाथ महोत्सव सावित भएको छ। महोत्सवको अन्त्यतिर आइपुग्दा धेरै उत्साहजनक नै छ। दर्शकहरुको माया र सहभागिताले आयोजकलाई थप उर्जा थपेकोे छ।’

उनले आयोजकका लागि आगामी दिनका लागि समेत थप उर्जा थपेको बताए।

‘महोत्सवमा दर्शकहरुको उल्लेख्य सहभागिताले आयोजकका लागि आगामी दिनका लागिसमेत थप उर्जा थपेकोस छ। महोत्सवलाई सफलतातर्फ उन्मुख बनाउन मद्दत गर्नुहुने दर्शक तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दछौं। लेखनाथ महोत्सव महोत्सवको पनि महोत्सव भएको भनाईलाई थप पुष्टि गरेको छ’, सह–संयोजक ओझाले उल्लेख गरे।

माघ १ गते महोत्सवको समापन हुने भएकाले यस पटकको महोत्सवले पनि लक्ष्यवरावरकै सफलता हात पार्न सक्ने अनुमान गरिएको छ।

सुरुमा करीव २ लाख ५० हजार दर्शकले मेलाको अवलोकन गर्ने अनुमान गरिएपनि महोत्सवको ११ औ दिन आइतवारसम्म आउँदा २ लाख, २० हजार दर्शकले मेलाको अवलोकन गरेका छन्।

महोत्सव समापनपुर्व नै लक्ष्यको नजिक दर्शकहरु मेलामा आएकोे महोत्सव प्रचार–प्रसार उपसमिति संयोजक जानुका अधिकारी पराजुलीले जानकारी दिएकी छन्।

महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामाग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार पनि बढेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष धु्रववावु भटराईको दाबी छ।

‘सुरुमा हामीहरुले करिव ९ करोड वरावरको आर्थिक कारोवार हुने अनुमान गरेपनि ११ औ दिनसम्ममा आइपुग्दा हामीहरु लक्ष्यको नजिक पुगेकाले महोत्सवले उच्च सफलता हात पार्नेमा विश्वस्त छौं’, उनको भनाई छ।

यसैबीच, आइतवार मात्र ३० हजार दर्शकले महोत्सवको अवलोकन गरेको छ।

यसैगरी, यो दिन १ करोड १० लाख बरावरको आर्थिक कारोवार भएको छ।

हालसम्म ६ करोड ९५ लाख बरावरको कारोवार भएको महोत्सव प्रचार–प्रसार संयोजक जानुका अधिकारी पराजुलीले जानकारी दिइन्।

महोत्सवमा आइतबार लोकदोहोरी कलाकारहरु खुमन अधिकारी, प्रिती आले, विक्रम परियार, सुनितामी परियार, सुमन खड्का र मञ्जु वि.क.लगायतले प्रस्तुति राखेका थिए।

बेलुका लाईभ कन्सर्टमा भाष्करध्वज श्रेष्ठको डी–मर्चा व्याण्डले स्टेज तताएको थियो।

सोमबार कलाकारहरु लोकदोहोरीतर्फ प्रजापति पराजुली, तारापति सुवेदी, सरला पाण्डे, राजन कार्की, आशा केसी, लक्ष्मी नेपाली, तारा थापाको प्रस्तुति रहनेछ।

बेलुका लाइभ कन्सर्टमा प्रमोद खरेलको परम्परा ब्याण्ड र स्थानीय ब्याण्ड सुजित एण्ड दि वायर्स व्याण्डको प्रस्तुति रहने कलाकार ब्यवस्थापन उप–समिति संयोजक उपेन्द्रराज सुवेदी (राजु) ले जानकारी दिएका छन्।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघले महोत्सवको संयुक्त आयोजना गरेको हो।

उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश महोत्सवको सह–आयोजक रहेका छन्।

पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड प्रवद्र्धक रहेका छन्।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने मूल नाराका साथ पुस १८ गतेबाट लेखनाथ महोत्सव सुरु भएको हो।

फाइल फोटो