२० औं संस्करणको लेखनाथ महोत्सव संचालनको १२ औं दिनसम्म आइपुग्दा लक्ष्यनजिक पुगेको आयोजकले दावी गरेको छ।
महोत्सव अवधिभर २ लाख ५० हजार दर्शक र ९ करोड कारोेबार गर्ने लक्ष्य लिएको आयोजकले महोत्सव सकिन १ दिन बाँकी छँदासम्म २ लाख ४५ हजार दर्शक भित्राउन सफल भएको छ।
त्यसैगरी, ७ करोड ९५ लाखको आर्थिक कारोबार गर्न सफल भएको छ।
महोत्सवको सोमबार मात्रै २५ हजार दर्शकले अवलोकन गरेका छन्।
यसैगरी, यो दिन १ करोड बराबरको आर्थिक कारोबार गर्न सफल भएको महोत्स प्रचार–प्रसार संयोजक जानुका अधिकारी पराजुलीले जानकारी दिएकी छन्।
महोत्सव समापनको अघिल्लो दिन सोमबार किनमेल गर्ने दर्शकहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ।
जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि भएको र महोत्सव सोचेभन्दा बढि सफल रहेको आयोजकको दावी छ।
महोत्सवमा पहिलो पटक सम्पन्न भएको महिलाहरुको हाँजिरीजवाफ प्रतियोगितामा पोखरा–३० को नारी विकास आमा समुह विजेता बनेको छ।
यस्तै, पोखरा–२६ को सृजना महिला समुह दोस्रो बनेको छ।
पोखरा–३० कै गार्डेन सिटी आमा समुह तेस्रो र पोखरा–२९ को समाज सुधार आमा समुह सान्त्वना स्थान हाँसिल गरेको संयोजक प्रभाकुमारी लामिछानेले जानकारी दिइन्।
विजेताले २५ हजार, उपविजेताले २० हजार, तेस्रो हुने समूहले १५ हजार र शान्त्वना हुने टिमले १० हजार पुरस्कार प्राप्त गरेका छन्।
यसैगरी, महोत्सवको थप आकर्षणको रुपमा रहेको रत्यौली गीत प्रतियोगितामा दर्ता भएका ३३ समुह मध्ये छनोटमा परेका २२ समुहले महोत्सवस्थलमा प्रस्तुति रहेको रत्यौली गीत संयोजक गंगा मल्लले जानकारी दिएक िछन्।
सोमबार नै विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा उत्कृष्ट हुन सफल प्रतियोगीहरुलाई पुरस्कार वितरण समेत गरिएको छ।
सोमबार कलाकारहरु प्रजापति पराजुली, तारापति सुवेदी, सरला पाण्डे, राजन कार्की, आशा केसी, लक्ष्मी नेपाली तारा थापाको प्रस्तुति दिएका छन्।
बेलुका लाईभ कन्सर्टमा प्रमोद खरेलको परम्परा ब्याण्ड र स्थानीय ब्याण्ड सुजित एण्ड दि वायर्स व्याण्डले स्टेजको थियो।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सवको मंगलबार एक समारोहबीच २० औं संस्करणको लेखनाथ महोत्सव समापन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघले महोत्सवको संयुक्त आयोजना गरेको हो।
उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश महोत्सवको सह–आयोजक रहेका छन्।
पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड प्रवर्द्धक रहेका छन्।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने मूल नाराका साथ पुस १८ गतेबाट लेखनाथ महोत्सव सुरु भएको हो।