काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनका प्रतिवादी रवि लामिछानेको थुनछेक बहस सुरू भएको छ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेको तर्फबाट हिँजो आइतबार बयान सकिएको थियो।
त्यसपछि थुनछेक बहस बाँकी रहँदा उनलाई काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो।
पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा भएको थुनछेक बहसपछि धरौटीमा रिहा भएका लामिछानेलाई काठमाण्डौ जिल्ला अदालतले भने थुनछेक बहस सुरू नभएको भन्दै हिरासतमा पठाउन आदेश दिएको हो।
लामिछानेका तर्फबाट १० जना कानून व्यवसायीले बहस गर्ने अदालत प्रशासनले जानकारी दिएको छ।
सुरूमा जाहेरवालाका तर्फबाट बहस भएपछि प्रतिवादीतर्फका कानून व्यवसायीले बहस सुरू गर्नेछन्।
स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
गोरखा मिडिया नेटवर्कमा कानून विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४ सय ८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धानको निष्कर्ष छ।