२० औँ संस्करणको लेखनाथ महोत्सव सकियो

९ करोड ५० लाख भन्दा बढिको कारोबार, ३ लाख भन्दा बढी दर्शकद्वारा महोत्सव अवलोकन

जनसम्मत
माघ १, २०८१, मंगलवार

२० औँ संस्करणको लेखनाथ महोत्सव मंगलबार सकिएको छ।

पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले महोत्सवको समापन गरेका हुन्।

कार्यक्रममा बोल्दै प्रमुख आचार्यले अत्यन्त भव्यताका साथ महोत्सव सफल भएको बताए।

महोत्सवमा राखिएको गौतम बुद्धको मुर्तिलाई उपयुक्त दुई ठाउँमध्ये एक स्थानमा व्यवस्थित गरिने आचार्यले प्रतिबद्धता जनाए।

उनले यस क्षेत्रमा २१ वटा विभिन्न परियोजना जस्तै वेगनासतालको वाटर स्पोर्ट, पोखराको प्रवेशद्धारमा रहेको हेलमेटडाडाँलगायतका विभिन्न परियोजना सफल पार्न निजी क्षेत्रलाई लगानी गर्न अपिल गरे।

‘पोखरा आफैँमा सौन्दर्यले भरिपूर्ण रहेको र शिक्षा, खेलकुद, धार्मिक क्षेत्र, भाषा, साहित्यलगायतका विषयलाई समेटेर महानगरसँग सहकार्य गरी पर्यटनको राजधानीको रुपमा विकास गर्नुपर्छ’, जोड दिए।

संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले महोत्सव २० औँ संस्करणसम्म आउँदा महोत्सवको पनि महोत्सव भन्ने पहिचान स्थापित गर्न सफल भएको बताए।

भव्य र सभ्य दर्शकको साथ मिलेको, उत्पादक र उपभोक्तालाई एकै थलोमा मिलाएर व्यापार र पर्यटनमा विकास पुर्याएको बताए।

प्राकृतिक सम्पदाको संरक्षण गर्न सबजुट्न उनले आग्रह गरे।

प्रेस रजिष्ट्रार गण्डकी प्रदेशकी विमला भण्डारीले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताए।

‘मेलाले क्रेता र विक्रेतालाई एकै ठाउँमा जम्मा गरी बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान गर्नेछ’, भण्डारीले बताइन्।

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले महोत्सवले लेखनाथ क्षेत्रको पहिचान गरी यस क्षेत्रमा उत्पादित कृषिजन्य बस्तुको व्यापार प्रवद्र्धन भएको उल्लेख गरे।

आगामी दिनमा अझ पर्यटकीस्थल र ऐतिहासिकस्थलको खोजी गर्न ओझाको आग्रह थियो।

पुस १८ गतेदेखि संचालन भएको २० औँ संस्करणको महोत्सवमा आयोजकले राखेको लक्ष्यभन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन्।
सोहीअनुसारको कारोबार समेत भएको छ।

महोत्सव अवधिभर ९ करोड ५० लाख भन्दा बढीको कारोबार भएको र ३ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गरेको प्रचार–प्रसार संयोजक जानुका अधिकारी पराजुलीले बताइन्।

महोत्सवमा निर्माण गरिएको बुद्धको मुर्ति सहितको नमुना विशेष आकर्षणको केन्द्र बनेको थियो।

महिलाहरुको सम्मानमा पहिलो पटक आयोजना गरिएको हाँजिरीजवाफ प्रतियोगिता, रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, जातजातिहरूको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, आदिवासी जनजाति तथा आमा÷महिला समूहहरूको आफ्नो झाँकी तथा भेषभूषा प्रदर्शनी, ख्यातिप्राप्त हाँस्यव्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, कृषि तथा पशुपक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, राष्ट्रिय उत्पादन प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोकदोहोरी कार्यक्रम, युवाहरुको ईच्छालाई लक्षित गर्दै लाइभ म्युजिक कन्सर्ट अन्य आकर्षणको रुपमा रहेका थिए।

विभिन्न विधामा प्रथम, द्धितीय, तृतीय र सान्तोना प्राप्त गर्ने व्यवसायी, दर्शक एवं कलाकारलाई कार्यक्रममा सम्मान गरिएको थियो।

महोत्सव संचालनबाट हुने बचत रकमबाट प्रस्तावित औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, र विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जनाएको छ।

संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको संचालन महासचिव जानुका पराजुलीले धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु) ले गरेका थिए।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने मूल नाराका साथ गत पुस १८ गतेबाट लेखनाथ महोत्सव सुरु भएको थियो।