खेलकुदले संपूर्ण नागरिकलाई राष्ट्रिय एकतामा ल्याउँछः मेयर आचार्य

पोखरा–१५ मा बृहत् खेलकुद महोत्सव सुरू

जनसम्मत
माघ २, २०८१, बुधबार

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खेलकुदले संपूर्ण नागरिकलाई राष्ट्रिय एकतामा ल्याउन मद्दत गर्ने औंल्याएका छन्।

पोखरा–१५ ले आयोजना गरेको खेलकुद महोत्सवको उद्घाटन गर्दै प्रमुख आचार्यले उल्लेख गरे, ‘अन्य विषयहरूमा मतभेद रहेपनि, फरक विचार रहेपनि, खेलकुदले एकै नियममा बाँध्छ। खेलकुदले व्यक्तिगत स्वास्थ्य सँगसँगै समाजलाई पनि सकारात्मक ऊर्जा प्रदान गर्छ।’

पोखरा–९ का अध्यक्ष दीपेन्द्र मर्सानीले खेलकुदस्थलको अभावले आफूले यस्ता कार्यक्रमहरू गर्न नसकेपनि वडा नं. १५ सँग सहकार्यमा अघि बढ्न सक्ने बताए।

आफूले हरतरहले साथ सहयोग गर्ने प्रतिबद्धतासमेत मर्सानीले जनाए।

आयोजक वडाका अध्यक्ष तोरणबहादुर बानियाँले खेलकुद महोत्सवले यहाँस्थित आमा समूह, टोल विकास संस्था र युवा क्लबहरूबीचमा आपसी सहयोग, चिनजान तथा भाइचाराको विकास गरेको उल्लेख गरे।

उनले भने, ‘आगामी दिनमा पानि खेलकुद महोत्सवलाई निरन्तरता दिइन्छ। वडाका नागरिक स्वस्थ भए, घरको वातावरण स्वस्थ हुने र स्वस्थ नागरिकले समाज र राष्ट्रका लागि योगदान दिन सक्छ।’

यस्तै, वडा सदस्य तथा महोत्सव संयोजक आशिष भण्डारीले खेलकुद कार्यक्रम महोत्सवले वडावासी नागरिकमा सामाजिक सद्भावका साथै भावनात्मक एकतालाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

‘स्वास्थ्य सँगसँगै खेलकुद कार्यक्रमले खेलाडीहरू उत्पादन गर्छ। यहाँबाट उत्पादन भएका खेलाडीहरू महानगर, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुगुन् भन्ने आफूहरूको लक्ष्य रहेको छ’, भण्डारीले औंल्याए।

कार्यक्रममा बन विज्ञान क्याम्पसका प्रमुख विनोद हेजु, आइएनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण अधिकारी, हिमालयन लाइफ नेपालका अध्यक्ष बुद्धिबल रम्तेल, राइट फर चिल्ड्रेनका परियोजना प्रबन्धक सन्तोष गुरूङले पनि बोलेका थिए।

वडा कार्यालयदेखि खेलस्थल वन विज्ञान क्याम्पसको चौरसम्म नेपाल प्रहरीको ब्याण्डबाजासहित वडास्थित आमा समूह, विद्यार्थी, युवाहरूले र्‍याली निकालेका थिए।

र्‍यालीमा जनजागृति महिला समूह र नेपाल भारत मैत्री विद्यालय उत्कृष्ट बन्दै पुरस्कृत भए।

समारोहमा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।

वडाध्यक्ष तोरण बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा महोत्सव संयोजक आशिष भण्डारीले स्वागत र वडासचिव युवराज पौडेलले कार्यक्रम संचालन गरेका थिए।