किसमकुमारी गुरुङकै नेतृत्वमा पुनः गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) गण्डकी प्रदेशको नयाँ कार्यसमिति गठन भएको छ।
जीटीन, गण्डकीको चौथो अधिवेशनले पुनः किसमकुमारी गुरुङकै अध्यक्षतमा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको हो।
समितिको प्रथम उपाध्यक्षमा सूर्यबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा विकास गुरुङ, महासचिवमा तुलबहादुर गुरुङ, सचिवमा विष्णु गुरुङ (एकता), कोषाध्यक्षमा मोहनराज गुरुङ र सह–कोषाध्यक्षमा गंगा घले छन्।
त्यस्तै, सदस्यहरूमा राजेन्द्र गुरुङ, कन्याप्रसाद गुरुङ, राजु गुरुङ, जगनराज गुरुङ, रुद्रकाजी गुरुङ, जीतमान गुरुङ, दिनेश गुरुङ, पदमबहादुर गुरुङ, रत्न गुरुङ र मधुमाया गुरुङ छन्।
अधिवेशनका लागि जीटीनका संस्थापक केन्द्रीय अध्यक्ष कुलबहादुर गुरुङको संयोजकत्वमा जीटीन गण्डकीका संस्थापक अध्यक्ष बोबरजंग गुरुङ, संस्थापक उपाध्यक्ष हर्कबहादुर गुरुङ रहेको निर्वाचन समितिले सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको हो।
नव निर्वाचित पदाधिकारीलाई संघद्वारा गुरुङ सम्पदा पदमार्गबारे विस्तृत जानकारी एवं सप्री ल्होसारका अवसरमा आयोजित विशेष समारोहबीच नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले खादा तथा अवीर लगाएर सम्मान गरे।
कार्यक्रममा बोल्दै मन्त्री गुरुङले प्राकृतिक एवं सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोडेर त्यसबाट आर्थिक समृद्धि हासिल गर्न सकिने औंल्याए।
मन्त्री गुरुङले औंल्याए, ‘गुरुङ पर्यटन व्यवसायी संघले अघि सारेको गुरुङ सम्पदा मार्ग पर्यटकीय विकासका लागि महत्वपूर्ण छ। यसको प्रवर्द्धन
र विकासका लागि सहयोग गरिनेछ। पदयात्रा क्षेत्रलाई व्यवस्थित गर्दै पर्वतीय पर्यटनको विकास गर्नुपर्छ।’
सरकारले जनताले अनुभुति गर्नेगरी काम गर्ने लक्ष्यका साथ अघि बढेको उनको भनाई थियो।
‘काम गर्ने क्रममा आउने गरेका समस्यालाई निराकरण गर्नका लागि बिभिन्न ११ वटा कानुन बनाउने तयारीमा सरकार रहेको छ’, उनले जनाए।
संघीय सांसद मनबहादुर गुरुङले गुरुङ सम्पदा पदमार्ग पदयात्रा पर्यटनको महत्वपूर्ण विकल्प बन्नसक्ने औंल्याए।
उनले भने, ‘गुरुङ समूदायका व्यक्तिहरूले शैक्षिक रुपका साथै अन्य विभिन्न तवरले आफूलाई सक्षम बनाउनुपर्छ। हाम्रो इतिहास र संस्कृति जोडिएको ठाउँलाई पर्यटकीय रुपमा उपयोग गर्नुपर्छ। त्यसबाट, समृद्धि हासिल गर्न सकिन्छ।’
गुरुङ पर्यटन व्यवसायी संघ गण्डकीका संस्थापक अध्यक्ष बोबरजंग गुरुङले संघले यस सम्पदा पदमार्गलाई पर्यटनमा परिणाम दिनेगरी प्रवर्द्धनको प्रयासमा जुटेको उल्लेख गरे।
‘संघले अन्वेषण एवं अनुसन्धान पश्चात यसको प्रवर्द्धनलाई जोड दिएको छ’, उनले भने।
संघका अध्यक्ष किसमकुमारी गुरुङले यस सम्पदा पदमार्गलाई बिभिन्न ३ चरणमा प्रवर्द्धन गर्नेगरी आफूहरु प्रबर्द्धनमा लागेको बताइन्।
यसको प्रवर्द्धन र विकासमा ३ वटै तहका साथै संचार क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ। पर्यटनसँग सम्बन्धित विभिन्न गतिविधिहरूको प्रवर्द्धनमा निरन्तरता दिनुपर्छ। संस्थामा आवद्ध व्यवसायीहरूको हितको साथै जीटीनलाई थप उचाईमा पु-याउन सदैव लागि परिन्छ। यो पदमार्गलाई प्रवर्द्धन र संरक्षण गर्नुका साथै परम्परागत संस्कृतिलाई संरक्षण गरिन्छ’, उनले प्रतिबद्धता जनाइन्।
गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङले गुरुङ सम्पदा पदमार्गको पदयात्रा पर्यटनमा धेरै संभावना देखिएको औंल्याए।
‘यसको उजागरसँगै प्रवर्द्धन र विकासका लागि मन्त्रालयका तर्फबाट निरन्तर सहयोग गर्ने विश्वास दिलाउँछु’, सचिव गुरुङको भनाई थियो।
कार्यक्रममा जीटीन केन्द्रका संस्थापक अध्यक्ष कुलबहादुर गुरुङ, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङ, नेपाल घरेलुु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष शोभा गुरुङलगायतले गुरुङ सम्पदा पदमार्गको संभावनाबारे प्रकाश पारेका थिए।
संघका अध्यक्ष किसमकुमारी गुरुङको सभापत्वि एवं महासचिव तुलबहादुर गुरुङले संचालन गरेको कार्यक्रममा स्वागत द्वितीय उपाध्यक्ष विकास गुरुङले गरेका थिए।