पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा शनिबार ‘गण्डकीका धुनहरु’ गुञ्जिए।
‘गण्डकीका धुुनहरु’ शीर्षक दिइएको उक्त अर्केष्ट्रा कार्यक्रममा ४० वाद्यवाधकहरुले प्रस्तुत गरेको भिन्दाभिन्दै धुनहरुले गण्डकी प्रज्ञा प्रतिष्ठानलाई नै गुञ्जायमान गरायो।
काठमाडौं र गण्डकीका ४० भन्दा बढी ती वाद्यवादकहरूले नेपाली मौलिक बाजाहरूको माध्यमबाट सांगीतिक धुनहरू प्रस्तुत गरे।
कार्यक्रममा पञ्चेबाजा, सारंगी, बाँसुरी, धिमे, सनई, टुङ्ना, मादल, खींलगायतका मौलिक बाजाहरूको धुनहरुलाई एउटै मञ्चमा प्रस्तुत गरियो।
प्रस्तुत धुनहरुमा जनप्रतिनिधि, राजनीतिकर्मी, प्रदेश सरकारका सचिवहरु, कर्मचारीहरु, कलाकार, साहित्यकार, पत्रकारलगायतकाहरु झुम्मिए र भरपूर मनोरञ्जन लिए।
गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा सांगीतिक कलाकार संघले अर्केष्ट्रास्वरुप पहिलो पटक यस्तो कार्यक्रमको संयुक्त आयोजना गरेको हो।
अग्रज स्रष्टाहरूको सम्मान र नयाँ पुस्तालाई मौलिक बाजाहरूप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रज्ञा प्रतिष्ठानले यस्तो कार्यक्रमको आयोजना गरेको थियो।
जुन कार्यक्रमले सांस्कृतिक पहिचानलाई बचाउन र नयाँ पुस्तालाई अवस्य प्रेरित गर्नेछ।
गण्डकीका धुनहरुलाई प्राथमिकतामा राखेर आयोजना गरिएको कार्यक्रमले सांगीतिक पहिचानलाई बलियो बनाउने विश्वास लिइएको छ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन्।
कार्यक्रममा बोल्दै मन्त्री थापाले गण्डकीका मौलिक धुनहरुलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा सांगीतिक कलाकार संघको संयुुक्त आयोजनामा भएको ‘गण्डकीका धुुनहरु’ शीर्षकको कार्यक्रममा बोल्दै मन्त्री थापाले जोड दिए, ‘गण्डकी प्रदेशको सांगीतिक सम्पदाको महत्व र यसलाई संरक्षण गर्नुपर्छ।’
मन्त्री थापाले प्रदेशका मौलिक बाजाहरूको जगेर्ना र नयाँ पुस्तामा यसको हस्तान्तरणलाई प्राथमिकतामा राखिने बताए।
‘गण्डकी प्रदेश गीतसंगीतको उर्वर भूमि हो। यहाँका सिर्जना विश्वप्रख्यात छन्। गण्डकीका सर्जकका सिर्जनालाई संरक्षण गर्न नै गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना गरिएको हो। जस माध्यममार्फत विविध कार्यक्रमहरु हुँदै आएका छन्’, उनले भने।
मन्त्री थापाले कार्यक्रममा पञ्चेबाजा, सारंगी, बाँसुरी, धिमे, सनई, टुङ्ना, मादल, खींलगायतका मौलिक बाजाहरू एकै मञ्चमा प्रस्तुत भएको देख्न पाउँदा खुशी व्यक्त गरे।
उनले प्रस्तुत बाजाहरूको ध्वनि र धुनले गण्डकी प्रदेशको सांगीतिक विविधतालाई प्रतिनिधित्व गरेको बताए।
‘हामी धुन र बाजाका हिसाबले धनी छौं। यसलाई संरक्षण गर्दै आगामी दिनमा प्रवर्द्धन गर्न हामी सबैले भूमिका निर्वाह गर्नुपर्छ’, उनले जोड दिए।
मन्त्री थापाले गण्डकी प्रज्ञा–प्रतिष्ठानको यस पहलको प्रशंसा गर्दै यस्तो कार्यक्रमले सांस्कृतिक धरोहरलाई जीवन्त राख्ने विश्वास व्यक्त गरे।
साथै, उनले आफ्नो मन्त्रालयको यस्ता सांस्कृतिक गतिविधिहरूमा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धतासमेत जनाए।
मन्त्री थापाले गण्डकीका मौलिक बाजाहरू जोगाउन सरकार, कलाकार र स्थानीय समुदायको सामूहिक प्रयास जरुरी रहेको औंल्याए।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कार्यक्रमको महत्वलाई रेखांकित गर्दै गण्डकीको सांस्कृतिक धरोहर जगेर्ना गर्न यस्ता कार्यक्रमले खेल्ने भूमिकाको प्रशंसा गरे।
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले अग्रज स्रष्टाहरूलाई सम्मान र नयाँ पुस्तालाई मौलिक बाजाहरूप्रतिको आकर्षण बढाउने उद्देश्यसहित यस्तो कार्यक्रमको आयोजना गरिएको जानकारी गराए।
उक्त कार्यक्रमले सांस्कृतिक पहिचानलाई बचाउन र नयाँ पुस्तालाई प्रेरित गर्न महत्वपूर्ण योगदान पु-याउने विश्वास श्रेष्ठको छ।
संगीत संयोजक तथा निर्देशक प्राज्ञ अशोक राईले पोखरामा पहिलो पटक अर्केष्ट्राको स्वरूप प्रदर्शन गरिएको जानकारी दिए।
उक्त अभियानले गण्डकीका धुनहरुलाई प्राथमिकतामा राखेर सांगीतिक पहिचानलाई बलियो बनाउने प्रयास भएको उनको भनाई छ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ को अध्यक्षतामा कार्यक्रम भएको थियो।