पोखरामा हाइकर्स क्लब नेपालको पहिलो वार्षिक साधारण सभा

हाइकर्स क्लब टोलीले आफ्नो ५४ औं चरणको हाइकिङ पार ग-यो

जनसम्मत
पौष २८, २०८१, आइतबार

हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा पोखरामा शनिबार सम्पन्न भए को छ।

प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले सभाको उद्घाटन गरेका हुन्।

कार्यक्रममा बोल्दै बरालले स्वास्थ्य र पर्यटनका लागि हाइकिङ अभियानले लामो समयको अनुभव र निरन्तरता पछि सस्ंथागत रुप पाएकोमा खुशी व्यक्त गरे।

‘गाउँको पुराना पदमार्गलाई पर्यटनसँग जोड्नुपर्छ। पर्यटन प्रवर्द्धनको दूतको रुपमा हाइकर्स क्लबको भूमिका महत्वपूर्ण रहन्छ’, बरालले औंल्याए।

कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पर्यटकको बसाइँ लम्व्याउन र पोखरामा आउने पर्यटकलाई गाउँ–ठाउँको रहन–सहन देखाउँदै भुलाउनका लागि पनि हाइकिङ उत्तम माध्यम भएको उल्लेख गरे।

‘हाइकर्स क्लब नेपालले हालसम्म गरेको हाइकिङ गन्तब्यका पहिचानसहितको गाइडबुक निकाल्दा राम्रो हुन्छ। यसले पोखराको पर्यटन पवर्द्धनमा थप टेवा पुग्छ। यस कार्यमा लाग्न पोखरा पर्यटन परिषदले पनि साथ दिन्छ’, पहारीको सुझाव थियो।

सो अवसरमा पोखरा महानगरपालिकाका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले ‘पोखरा भ्रमण वर्ष–२०२५’ को घोषणा हुने क्रममा रहेको उल्लेख गरे।

हाइकर्स क्लबलाई साथ र सहयोग गर्न महानगर तयार रहेको पौडेलले प्रतिबद्धता जनाए।

त्यसैगरी, राष्ट्रिय पर्यटन परिषदका पुर्व सदस्य एवं पोखरा–२१ का पूर्व वडाध्यक्ष खगराज आचार्यले पर्यटन प्रवर्द्धनको स्पष्ट मार्गचित्र कोरेर दिर्घकालीन योजना बनाएर नै हाइकिङ अभियानलाई अगाडी बढाउन सुझाव दिए।

कार्यक्रममा हाइकिङ अभियानलाई सुरुवाती दिनहरुमा नेतृत्व गर्न भूमिका खेल्ने प्रविन तुलाचन, जेष्ठ नागरिक भएर पनि निरन्तर हाइकिङमा सहभागी हुने यमबहादुर रानाभाट र सुशिला रानाभाटसहित महिला सरस्वती अधिकारीलाई सम्मान गरिएको थियो।

त्यस्तै, एसियन फोरमका अध्यक्ष पार्वती पौडेल रेग्मी, सम्मानीत व्यक्तिको तर्फबाट प्रविन तुलाचनले शुभकामना व्यक्त गरे।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान स्याङ्जाका अध्यक्ष लोकदोहोरी गायक नेत्र खड्काले हाइकिङसंग सम्बन्धित सांगीतिक प्रस्तुति राखे।

सभामा कोषाध्यक्ष टिका आचार्य सुवेदीको आर्थिक प्रतिवेदन र सचिव मधु अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरे।

ती प्रतिवेदनहरुलाई साधारणसभाले सर्वसम्मत पारित ग-यो।

हाल क्लबमा २८ जना आजीवन र ४० जना साधारण सदस्य छन्।

क्लबका अध्यक्ष कृष्ण रानाभाटको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

सदस्य तिलक थापाले स्वागत मन्तव्य दिएको कार्यक्रम सचिव मधु अधिकारीले संचालन गरेका थिए।

सभा सम्पन्न गरेपछि हाइकर्स टोली आफ्नो ५४ औं हाइकिङको रुपमा पोखरा–१७ ड्यामसाइड रानीवन हुँदै पोखरा–२२ कोदीस्थित झण्डापार्कसम्म पुगेको थियो।