‘देखेर होइन, बुझेर मात्र व्यवसाय थाल्दा सफल भइन्छ’

कास्कीको मादी–३, याङ्जाकोटमा उद्यमशीलता विकासमा निजी क्षेत्रको भूमिकाको खोजी

जनसम्मत
पौष २८, २०८१, आइतबार

पोखरा उद्योग वाणिज्य संघले ‘उद्यमशिलता विकासमा निजी क्षेत्रको भूमिका’को खोजी गरेको छ।

उद्योगा वाणिज्य संघले पोखरा महानगरपालिकाअन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्र (बीपीसी) को सहकार्यमा ‘उद्यमशिलता विकासमा निजी क्षेत्रको भूमिका’को खोजी गरेको हो।

ग्रामीण पर्यटन प्रवर्द्धनसँगै गाउँमा उद्यमशिलता खोजी एवं त्यसको बजारीकरणको संभावनाको समेत खोजी गर्ने उद्देश्यले मादी गाउँपालिका–३, याङ्जाकोटमा आयोजित कार्यशालाको वडाध्यक्ष विकास गुरुङले उद्घाटन गरे।

उद्घाट्नको क्रममा बोल्दै उनले व्यवसाय गर्नु भनेको नाफाको सपनामात्र नभएर संभावित नोक्सान सहनुसमेत भएको बताए।

लगानी गर्नेलाई राज्यबाट विशेष सुविधा दिनुपर्नेमा उनले जोड दिए।

‘लगानी गर्दा घाटा पनि हुनसक्छ। व्यवसाय गर्नेले लगानी गर्छ। त्यो लगानीको सुरक्षाको लागि राज्यले विशेष वातावरण बनाइदिनुपर्छ। उत्पादकत्व वृद्धि र रोजगारी सिर्जना हुने खालका उद्योग/व्यवसाय गर्नेहरुलाई प्रोत्साहित गर्नु नै राज्यको कर्तव्य हो’, उनले भने।

मादी गाउँपालिकाले पर्यटन प्रवर्द्धनसँगै पूर्वाधार निर्माण एवं ग्रामीण उत्पादनको बजारीकरणको लागि काम गरिरहेको गुरुङले बताए।

उनले सो क्षेत्रमा उत्पादित बस्तुको बजारीकरणमा पोखरा उद्योग वाणिज्य संघसँग सहकार्य गर्ने उल्लेख गरे।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्यम गर्नु भनेको आफू आत्मनिर्भर हुनुमात्र नभएर रोजगारी सिर्जना गर्नु र देशको अर्थतन्त्रलाई टेवा दिनु भएको औंल्याए।

राज्यले व्यावसायिक वातावरण निर्माणको लागि योजनावद्ध काम गर्नुपर्नेमा कार्कीले जोड दिए।

‘उद्योग/व्यवसाय गर्ने वातारण निर्माण गर्नु राज्यको दायित्व हो। वडाध्यक्ष गुरुङको आयातमुखी अर्थतन्त्रलाई सुरुमा निर्वाहमुखी र पछि निर्यातमुखी बनाउनको लागि योजनाबद्ध रुपले काम गर्नुपर्छ। गाउँमा उत्पादित कृषिजन्य बस्तुको बजारीकरणमा सहयोग गर्नुपर्छ। यो अभियानमा पोउवा संघ पालिका एवं महानगरसँग सहकार्य गर्न तयार छ’, कार्कीले भने।

प्रमुख प्रशिक्षक आरसी लामिछानेले राज्यका नीतिहरुबारे जानकारी राख्नुृपर्नेमा जोड दिए।

उत्पादकत्व बढाउने खालका इलम गर्नको लागि इच्छा र नयाँ सोच जरुरी रहेको लामिछानेले औंल्याए।

उनले अर्काको देखासिकी गरेर हैन कि योजना बनाएरै व्यवसाय गर्दामात्र सफलता हात लाग्छ भन्ने कुुरा बुझन् व्यवसायीसँग आग्रह पनि गरे।

व्यवसाय प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज अधिकारीले देशका पालिकामध्ये पहिलोपटक महानगरले व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत् निजी क्षेत्रका समस्या समाधान, उद्यमशीलता विकास र रोजागारीको लागि नयाँ कामहरु गरिरहेको चर्चा नयाँ सोँचसहित उद्योग/व्यवसाय गर्नेलाई महानगरले आर्थिक र प्राविधिक सहयोग गर्ने जानकारी दिए।

‘मान्छे बिरामी भयो भने अस्पताल वा क्लिनिक जान सकिन्छ। व्यवसाय नै बिरामी भयो भने कहाँ जाने ? पोखरा महानगरको व्यवसाय प्रवर्द्धन केन्द्र उद्योग/व्यवसायलाई तन्दुरुस्त राख्ने थलो हो’, उनले भने, ‘निजी क्षेत्रसँगकै सहकार्यमा हामीले कामहरु गरिरहेका छौँ। र, निजी क्षेत्रमैत्री वातावरण निर्माणमा नै हाम्रो ध्येय हो।’

पोखरा महानगरपालिका लेखा अधिकृत छवि तिमिल्सिनाले पालिका भनेको दिने र निजी क्षेत्र भनेको लिने संस्था हो भन्ने सोँच्न नहुने उल्लेख गरे।

सार्वजनिक निजी साझेदारीलाई सफल पार्न दुबैबीच एकता हुनुपर्नेमा उनले जोड दिए।

पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष दीनेशचन्द बास्तोलाले दिगो आर्थिक विकासका लागि योजनाबद्ध रुपले अगाडि बढ्नु, उद्यमशीलता प्रवर्द्धन गर्नु तथा डिजिटल इनोभेसनलाई आत्मसात् गर्न सहजीकरण गर्ने दिशामा अगाडि बढ्नु अहिलेको आवश्यकता भएको औंल्याए।

सार्वजनिक निजी साझेदारीमार्फत् नयाँ अवसर सिर्जना गर्ने, श्रोत र साधनको लागि नयाँ अवसरहरु खोज्ने, स्रोतको प्रभावकारी व्यवस्थापन गर्ने र अन्तर्राष्ट्रिय व्यापार प्रवाहसँग निजी क्षेत्रलाई समायोजन गर्नका लािग आवश्यक पर्ने रणनीतिबारे प्रशिक्षण दिइएको थियो।

२ दिने कार्यशाला गोष्ठीमा प्रमुख प्रशिक्षक डा आरसी लामिछाने र सार्वजनिक निजी साझेदारी अनि नयाँ संभावनाबारे व्यवसाय प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज अधिकारीले प्रशिक्षण दिएका थिए।

पोखरा उद्योग वाणिज्य संघकी महासविच गौतमका अनुसार कार्यशालाले निजी क्षेत्रको संस्थागत क्षमतामा बढाउने, क्षेत्रीय तथा राष्ट्रिय स्तरमा पोखरालाई आर्थिक विकासको केन्द्रबिन्दु बनाउन नयाँ रणनीतिक योजना पनि तय गरेको छ।

कार्यशालामा निजी क्षेत्रका ८० जना उद्योगी/व्यवसायीहरुको सहभागिता थियो।

महासचिव शोभा गौतमले उद्घाटन कार्यक्रम संचालन गरेकी थिइन्।

उद्योग उपाध्यक्ष दीनेशचन्द बास्तोलाले उद्घाटन सत्रको समापन गरे।