झूटा इमेलप्रति सतर्क रहन साइबर ब्यूरोको आग्रह

ब्यूरोले ती इमेलहरू ‘होक्स’ अर्थात् झूटा भएको भन्दै कुनैपनि प्रतिक्रिया नदिन र विश्वास नगर्न सबैलाई अनुरोध गरेको छ

जनसम्मत
माघ ३, २०८१, बिहीवार

नेपाल प्रहरीको साइबर ब्यूरोले चेतावनीसहितका झूटा इमेलहरूको गतिविधिप्रति सतर्क रहन आग्रह गरेको छ।

प्रहरीका उच्च अधिकारीहरूको नाम र दर्जा दुरुपयोग गर्दै चेतावनीसहितका झूटा इमेलहरू पठाइने गतिविधिप्रति सतर्क रहन ब्यूरोले आग्रह गरेको हो।

साइबर ब्यूरोका प्रवक्ता दीपक राज अवस्थीले आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै यस्ता झूटा इमेलहरूप्रति ब्यूरोको गंभीर ध्यानाकर्षण भएको जनाएका हुन्।

ब्यूरोले ती इमेलहरू ‘होक्स’ अर्थात् झूटा भएको भन्दै कुनैपनि प्रतिक्रिया नदिन र विश्वास नगर्न सबैलाई अनुरोध गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल प्रहरी साइबर ब्यूरोलगायत अन्य प्रहरी कार्यालयहरूबाट पठाइएको भनिएका यस्ता इमेलहरू ‘होक्स’ भएको पुष्टि भएको छ। त्यसैले, यस्ता मेलहरूको विश्वास नगर्नु र कुनै प्रतिक्रिया नदिनुहुन सम्पूर्णमा विनम्र अनुरोध छ।’

ब्यूरोले झूटा इमेलहरूलाई पहिचान गरी सावधानी अपनाउन सबैलाई सचेत गराएको छ।

साथै, यस्ता गतिविधिहरूमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन प्रयास भइरहेको जनाएको छ।

हेरौं, ब्यूरोको विज्ञप्ति