पीएसबी, समावेशिताको ऐना बन्न सक्नुपर्छ

संचारमन्त्री गुरुङ जोड दिन्छन्, ‘पीएसबीले देश र जनताप्रति केन्द्रीत भएर काम गर्नुपर्छ’

जनसम्मत
माघ ३, २०८१, बिहीवार

संचार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समावेशी चरित्रलाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन्।

उनले भने, ‘जनताको सूचनाको हक प्रत्याभूत गराउनु सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी) को मुख्य दायित्व रहन्छ।’

साबिक नेपाल टेलिभिजनमा (मंगलबार) भएको पीएसबीको पूर्वारम्भ कार्यक्रममा संचारमन्त्री गुरुङले जनता र देशप्रति केन्द्रीत रहेर समावेशिताको ऐना बन्नुपर्नेमा जोड दिएका हुन्।

मन्त्री गुरुङले पिएसबी सबै वर्ग, क्षेत्र, भाषाभाषी, जातजाति र क्षेत्रको विविधता झल्कने समावेशिता र समानताको ऐना बन्नुपर्ने बताए।

उनले विविधताभित्र एकता कायमगर्ने गरी आफ्ना विषयवस्तु चयन गर्न पीएसबीलाई आग्रह गरे।

विविधताभित्र एकताबद्ध राष्ट्र निर्माणका लागि पीएसबीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने मन्त्री गुरुङले बताए।

‘पीएसबीले अब सत्ताको तावेदारी नगरी जनताको सूचनाको हकको प्रत्याभू गर्दै समाज र राष्ट्रप्रतिको दायित्व पूरा गर्नुपर्छ। सहभागितामूलक, समानता र समावेशी अवधारणामा आधारित भएर पीएसबीले काम गर्छ’, संचारमन्त्री गुरुङले भने।

बहुभाषी, बहुसांस्कृतिक, बहुजातीय हाम्रो समाजमा सबैका भावन समेट्ने उनले सुझाव दिए।

‘अब दैलेखमा बस्ने राउटेदेखि तराईमा बस्ने मधेसका सबै जनताले रेडियो सुन्ने र टेलिभिजन हेर्ने अवसर पाउनुपर्छ। अनि मात्रै यो सार्वजनिक सेवा प्रशारणको सार्थकता रहन्छ। जनतालाई सहि सूचना दिने र सरकारको तथ्यपक आलोचना गर्ने बानीको विकास गर्नपर्छ’, सरकारका प्रवक्ता समेत रहेका गुरुङले सुझाव दिए।