अमेरिकामा टिकटक बन्द गर्ने संभावना बढेको छ।
त्यहाँ अर्को चिनियाँ एप रेडनोट डाउनलोड गर्ने क्रम बढेको न्यूज एजेन्सीहरुले जनाएका छन्।
केही समयदेखि अमेरिकामा रेडनोटको डाउनलोड बढ्दै गएकोमा एपल स्टोरमा रेडनोट सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको बीबीसीले जनाएको छ।
सोमवार र मंगलवार मात्रै अमेरिकाबाट ७ लाख नयाँ प्रयोगकर्ता जोडिएका रोडनोटलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।
मंगलवार रेडनोटभित्र ‘टिकटक रेफ्युजी’ शीर्षकमा झन्डै ६३ हजार पोस्ट भएका छन्।
सोमवार ५० हजार वटाभन्दा धेरै यस्ता पोस्ट भएका थिए।
अमेरिकामा टिकटक प्रतिबन्धको तयारी हुँदै गर्दा टिकटक शरणार्थी भन्ने समूहको चर्चा बढेको छ।
सियाओहङ्शु नामको चिनियाँ एप अंग्रेजीमा रेडनोटको नामबाट डाउनलोड भइरहेको छ।
सन् २०१३ मा स्थापना भएको यो एप चीनको ठूलो सामाजिक सञ्जाल प्लेटफर्ममध्ये एक हो।
चीनको इन्स्टाग्राम भनिने यो एपका ३० करोड मासिक प्रयोगकर्ता छन्।
यो एप टिकटक र इन्स्टाग्रामको संयोजनजस्तो देखिन्छ।
यसमा प्रयोगकर्ताहरूले आफ्ना जीवनशैली, फेसन, सौन्दर्य, खाना र यात्राका अनुभवहरू शेयर गर्दै आएका छन्।
यसअघि, जापान, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया, सिंगापुर, भियतनामलगायतका देशमा लोकप्रिय रहेको यो एप अहिले अमेरिकामा पनि लोकप्रिय बन्दै गएको छ।
इन्डोनेसियाले अनधिकृत विद्युतीय व्यापारको कारण देखाएर यो एपमाथि कडा नियमन गरेको छ भने भारतले २ वर्षअघि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै धेरै चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाउँदा रेडनोट पनि परेको छ।