‘पत्रकारको न्यूनतम पारिश्रमिकमा समयानुकूल वृद्धि गर्नुपर्छ’

‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र ऐन संशोधन’ विषयक अन्तरक्रिया

जनसम्मत
माघ ५, २०८१, शनिबार

पत्रकारको न्यूनतम पारिश्रमिक समयानुकूल वृद्धि गरिनुपर्नेमा पत्रकारहरूले जोड दिएका छन्।

न्यूनतम पारिश्रमिक निर्धारण समितिले आज (शनिबार) दिक्तेलमा आयोजना गरेको ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र ऐन संशोधन’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी पत्रकारहरूले न्यूनतम पारिश्रमिक समयानुकूल संशोधन गरेर वृद्धि गरिनुपर्नेमा जोड दिएका हुन्।

कार्यक्रममा सहभागी वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्यले न्यूनतम पारिश्रमिक निर्धारण समितिले मोफसलमा रहेर पत्रकारिता गरिरहेका पत्रकारलाई समेत सम्बोधन गर्नेगरी ऐन संशोधन गर्नुपर्ने बताए।

अन्तरक्रियालाई सम्बोधन गर्दै समितिका सदस्य टेनिस रोकाले पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गर्ने जिम्मा नेपाल सरकारको भएकाले कार्यक्रममा उठेका विषयहरूलाई सम्बन्धित ठाउँमा पु¥याएर सम्बोधन गराउने प्रतिबद्धता जनाए।

उनले भने, ‘तपाईँहरूले दिनुभएको सुझाव तथा गुनासालाई समेटेर प्रतिवेदन तयार पार्छौँ। हामीले तयार पारेको प्रतिवेदन सम्बन्धित निकायमा बुझाएर कार्यान्वयन गर्न लगाउँछौँ।’

नेपाल पत्रकार महासघंं जिल्ला शाखासँगको सहकार्यमा अन्तरक्रिया आयोजना गरिएको हो।

यसैबीच, नेपाल पत्रकार महासंघ जिल्ला शाखाले पत्रकार महासघंको उपत्यका प्रदेश अध्यक्षमा निर्वाचित टेनिस रोकालाई सम्मान गरेको छ।