तनहुँ भानु–९ को पुर्कोटमा राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइयो

कार्यक्रममा रैथाने परिकारहरुको खाजा प्रदर्शनी, रैथाने बालिको अवलोकन गरिएको थियो

जनसम्मत
माघ ५, २०८१, शनिबार

 

तनहुँ जिल्लाको भानु नगरपालिका–९ पुर्कोटमा तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइएको छ।

‘स्वास्थ्य जीवन र पर्यवाणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ माघ ५ गते शनिवार भानु नगरपालिका वडा नं ९ पुर्कोटस्थित बाईसजँगारमा दिवस मनाइएको हो।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले स्थानीय तह, प्रदेश र संघीय सरकारले कृषिलाई प्राथमिकता दिँदै किसानलक्षित कार्यक्रम गर्नुपर्नेमा जोड दिए।

भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले पालिकाले ब्यावशायिक किसानको हितलाई ध्यानमा राखी कार्यक्रम संचालन गरिएको जानकारी दिए।

‘उत्पादनमा आधारित अनुदान, रैथाने तथा उन्नत बीउ वितरण, कृषि यन्त्र वितरण, कृषि हाट बजारको तयारी लगायतको कार्य थालिएको छ’, प्रमुख त्रिपाठीले उल्लेख गरे।

उपप्रमुख उमा गोतामेले भानु नगरपालिकामा ब्यवसाय गर्ने किसानहरुको संख्यामा वृद्धि भइरहेको जनाइन्।

गोतामेले जोड दिइन्, ‘युवा पुस्तालाई देशमै बसेर काम गर्नतर्फ आकर्षण गर्न पालिकासँगै संघीय सरकारले पनि सघाउनु पर्छ।’

कार्यक्रममा कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछानेले कृषकको मागको आधारमा योजना बनाएर कार्यक्रम संचालन गर्दा किसानमैत्री हुने औंल्याए।

‘त्यसबाट खास किसानले सबै प्रकारको सेवा लिन सक्छ’, शर्माले स्पष्ट पारे।

कार्यक्रममा भानु–९ का वडाध्यक्ष मिनबहादुर गुरुङ, कार्यपालिकाका सदस्य वडासदस्य, स्थानीय अग्रज ब्यक्तित्वहरुले समेत शुभकामना मन्तव्य दिएका थिए।

कृषि ज्ञान केन्द्र तनहुँ, भानु नगपालिकाको सहयोगमा जैविक विविधता संरक्षण समिति पूर्कोटको आयोजनामा रैथाने बाली र उन्नत बालीहरुको प्रदर्शनी प्रतियोगिता संचालन गरिएको थियो।

कार्यक्रममा उत्कृष्ट कृषकहरुलाई सम्मान तथा पुरस्कार बितरण गरिएको छ।

कार्यक्रममा रैथाने परिकारहरुको खाजा, रैथाने बालिको अवलोकन, बिभिन्न झाँकी प्रस्तुति र राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको थियो।