यु–१९ महिला टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार

नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित, ‘सुपर सिक्स’ मा पुग्ने नेपालको संभावना कम

जनसम्मत
माघ ७, २०८१, सोमबार

आइसीसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपाली टोलीले लगातार दोस्रो हार ब्यहोरेको छ।

मलेसियाको बांगीमा भएको दोस्रो खेलमा पनि नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएको हो।

नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ ओभर ४ बलमा ९ विकेट गुमाएर भेट्टायो।

स्कटल्यान्डकी पिपा स्प्रोलले सर्वाधिक ३५ रन बनाइन्।

नेपालकी रचना चौधरी र सीमाना केसीले समान २/२ विकेट लिए।

टस जितेर ब्याटिङ गरेको नेपाल १८ ओभर ५ बलमा ७३ रनमा अलआउट बन्यो।

नेपालकी पूजा महतोले सर्वाधिक २७ रन बनाइन्।

स्कटल्यान्डकी मेसे मसेराले ५ विकेट लिइन्।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो।

योसँगै नेपालको सुपर सिक्स पुग्ने संभावना कमजोर बनेको छ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेट पराजित भएको थियो।

नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि (बुधवार) अस्ट्रेलियासँग खेल्नेछ।

प्रतियोगितामा १६ वटा टोलीलाई ४ समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा भारत, मलेसिया, श्रीलंका र वेस्ट इन्डिज छन्।

समूह ‘बी’ मा इंग्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन्।

समूह ‘सी’ मा न्युजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन्।

समूह ‘डी’ मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्।

हरेक समूहका शीर्ष ३ टोली ‘सुपर सिक्स’ मा पुग्नेछन्।

१९ वर्षमुनिको महिला टी–२० विश्वकपको फाइनल खेल माघ २० गते हुनेछ।

आइसीसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेटको फाइनल खेल माघ २० गते हुनेछ।

तस्बीरः क्यान