पाँचौ संस्करणको टाइगर कप भलिबलको तयारी तीब्र

विगतमा भन्दा यस संस्करणमा प्रतियोगितालाई थप आकर्षण बनाउने प्रयासमा आयोजक टाइगर ग्रुप अफ पोखरा जुटेको छ

जनसम्मत
माघ ७, २०८१, सोमबार

पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको तयारी तीब्र पारिएको छ।

पोखरामा हुने यस पटकको संस्करणमा प्रतियोगितालाई विगतमा भन्दा थप आकर्षण बनाउने प्रयासमा आयोजक टाइगर ग्रुप अफ पोखरा जुटेको छ।

प्रतियोगितालाई थप केही नयाँपन दिन आयोजक टाइगर ग्रुप जुटेको आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा बताइएको छ।

आयोजक टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगितालाई विगतमा भन्दा थप आकर्षक बनाउन केही फरक व्यवस्थापनमा आयोजक जुटेको बताए।

शर्माका अनुसार, प्रतियोगितालाई अन्तराष्ट्रियस्तरको बनाउन आयोजक तयारीमा जुटेको छ।

शर्माले भने, ‘यस संस्करणको प्रतियोगितामा खेल हेर्ने दर्शकका लागि ई–सेवाको अनलाइनबाटै इटिकेटिङको व्यवस्था, बढी भन्दा बढी दर्शक अट्ने प्यारापिट निर्माण, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएकाहरुका लागि खेल हेर्न छुट्टै प्यारापीटको निर्माण, प्रतियोगिताको प्रत्यक्ष प्रसारण एवं

प्रतियोगितास्थलमा डिजिटल बोर्डको व्यवस्थालाई निरन्तरता दिन आयोजक तयारीमा जुटेको छ।’

प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले यस पटक २ हजार दर्शक अट्ने व्यवस्थित प्यारापीट निर्माण गर्ने बताए।

प्रतियोगितालाई थप रोमाञ्चक बनाउन प्रत्येक टिममा ३ जनासम्म विदेशी खेलाडीहरु टिममा अनुवन्ध गर्न पाउने व्यवस्था यस संस्करणमा राखिएको जनाए।

ज्ञवालीका अनुसार हालसम्म घरेलु गण्डकी प्रदेश भलिबल संघ, हेल्प नेपाल स्पोर्ट्स क्लब र न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब काठमाण्डौंलगायतले विदेशी खेलाडीहरु अनुबन्ध गरिसकेका छन्।

‘यस पटकको प्रतियोगितामा हरेक खेललाई रोमाञ्चक र थप आकर्षण हुनेगरी खेलतालिका बनाइनेछ। प्रतियोगिता सुरु हुने अघिल्लो दिनसम्म खेलतालिका प्रकाशन गरिनेछ’, प्रतियोगिता संयोजक ज्ञवालीले भने।

संचार प्रदायक कर्पोरेट हाउस एनसेलको मुख्य प्रायोजनमा हुने पाँचौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खुल्ला क्लब महिला तथा पुरुष च्याम्पियनसीप भलिबल प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ पनि ६ टिम गरी १२ टिमको प्रतिस्पर्धा रहनेछ।

यही माघको १२ देखि १९ गतेसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा हुने प्रतियोगितामा महिला पुरुष दुबैतर्फ १/१ विदेशी टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा पुरुषतर्फ घरेलु गण्डकी प्रदेश भलिबल संघसहित टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, विभागीय त्रिभुवन आर्मी क्लब, नेपाल पुसिल क्लब र सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब सहभागी हुनेछन्।

पुरुषतर्फ विदेशी टोलीमा भारत कुरुक्षेत्रको सुनील भलिबल क्लब अमीनले प्रतिस्पर्धा गर्नेछ।

त्यसैगरी, महिलातर्फ आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालसहित विभागीय विभागीय त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, टिपटप न्यू डायमण्ड युथ स्पोर्टस क्लब र विदेशी टोली थाइल्याण्डको ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा पुरुष र महिलातर्फका दुवै विजेता टोलीले उपाधिसहित समान ५ लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कार पाउनेछ।

उपविजेताले २ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउनेछ।

प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउनेछ।

प्रतियोगिताका सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले जनही २५/२५ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

त्यसैगरी, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षक (पुरुष/महिला) ले जनही १० हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

प्रत्येक खेलको ‘टाइगर अफ दि म्याच’ बन्ने खेलाडीलाई केल्मी नेपालको तर्फबाट १ थान सोभिनियर भलिबल प्रदान गर्ने आयोजकले बताएको छ।

प्रत्येक दिन टिकट काटी प्रवेश गर्ने दर्शकहरुका लागि १ भाग्यमानी दर्शकले एक्सटेप फेसन नेपालको तर्फबाट १ थान टिसर्ट पाउनेछन्।

फाइनल खेलको १ भाग्यमानी दर्शकले बम्पर उपहारस्वरुप वल्र्ड भिजन महेन्द्रपुलको तर्फबाट १ थान सामसुङ मोबाइल पाउनेछ।

प्रतियोगिता संचालन गर्न १ करोड २५ लाख रुपैयाँ खर्च हुने अनुमान लगाइएको छ।

तस्बीरः योगेन्द्र श्रेष्ठ