पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव आजबाट सुरु

राष्ट्रिय औद्योगिक व्यापार मेलाको साथमा १२ औं क्यान इन्फोटेक–२०२५ तथा चौथो मोवाइल एक्सपो–२०२५ समेत आयोजना हुँदैछ

जनसम्मत
माघ १०, २०८१, बिहीवार

पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा आज (बिहीबार) बाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव–२०८१ सुरु हुँदैछ।

राष्ट्रिय औद्योगिक व्यापार मेलाको साथमा १२ औं क्यान इन्फोटेक–२०२५ तथा चौथो मोवाइल एक्सपो–२०२५ समेत आयोजना हुँदैछ।

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम छ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले मेलामा देशका ७ वटै प्रदेशका मौलिक र हस्तकलाका उत्पादनहरुको प्रदर्शनीको अलावा औद्योगिक उत्पादन, घरायसी सामान, कम्प्यूटर र मोवाइल, पुष्प प्रदर्शनीलाई पनि समाहित गरिने बताएका छन्।

अध्यक्ष कार्कीले भनेका छन्, ‘मेलामा हामी गण्डकी प्रदेशमा रहेका ठूला, मझौला र साना उद्योगका उत्पादनका अलावा रोजगारी सिर्जना, नयाँ संभावनाको खोजी एवं अन्य प्रदेशका असल अभ्यासहरुलाई पनि समावेश गर्ने जमर्को गरिरहेका छौँ। मेलालाई संपूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवर्द्धन तथा बजारीकरणमा समेत सघाउ पु-याउने गरी आयोजना गरिँदै छ। ‘लगानीको सम्बर्द्धन : उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नाराअनुरुप आयोजना हुने मेलामा अन्य प्रदेशका निजी क्षेत्रले अलम्बन गरेका असल अभ्यासलाई पनि प्रदर्शन गरौँ, सहकार्यको नयाँ अध्याय सुरुवात गर्दै सो क्षेत्रको लगानी गण्डकी प्रदेशमा आकर्षित गरौँ भन्ने पुनित लक्ष्य पनि हामीले राखेका छौँ।’

संघकी महासचिव शोभा गौतमका अनुसार मेलामा निजी क्षेत्रबीच सहकार्य तथा संभावनाबारे चर्चा र छलफलसमेत हुनेछ।

प्रचार–प्रसार संयोजक तथा संघका कार्यसमिति सदस्य मनोहरि पौडेलका अनुसार मेलामा विश्वस्तरमा चल्तीमा रहेका आर्टिफिसियल इन्टलिजेन्स (एआई), (उन्नत सीसी टिभी सर्भिलेन्स) समेत उपलब्ध हुनेछन्।