नवलपुरमा प्रेस सेन्टरले मनायो २१ औं स्थापना दिवस

दिवसको अवसरमा सामाजिक उत्तरदायित्वसँगै खाद्यान्न सामग्री वितरण

जनसम्मत
माघ १५, २०८१, मंगलवार

प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसरमा प्रेस सेन्टर नेपाल, नवलपुरले पनि आफ्नो स्थापना दिवस मनाएको छ।

दिवसका अवसरमा कावासोती–१२ स्थित लक्ष्मीनारायण मन्दिरमा एक कार्यक्रमको आयोजना गरी खाद्यान्न सामग्री वितरण गरेको छ।

स्थापना दिवसको अवसरलाई समाजसेवामा केन्द्रीत गरी प्रेस सेन्टर नेपाल, नवलपुरले खाद्यान्न वितरण कार्यक्रम संचालन गरेको हो।

नवलपुर शाखा अध्यक्ष प्रितम भुजेलको नेतृत्वमा आयोजित कार्यक्रममा माओवादी केन्द्रीय सदस्य बालकृष्ण राजाभाट, गण्डकी प्रदेश सचिव अर्जुन अविरल, शाखा उपाध्यक्ष कमल जिसी, सचिव राजु कल्पित सुवेदी, विभिन्न संचारकर्मीहरू, स्थानीय समाजसेवीहरू सहभागी थिए।

अध्यक्ष भुजेलले प्रेस सेन्टर नेपालको स्थापना कालदेखि नै सामाजिक सेवामा केन्द्रीत कार्यक्रमहरू संचालन गर्दै आएको जानकारी गराए।

उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘पत्रकारिता केवल सूचना सम्प्रेषणमा सीमित छैन। यसले समाजको समस्यालाई उजागर गर्दै समाधानमा सहयोग पु-याउन पनि भूमिका खेल्नुपर्ने उनले जोड दिए।

माओवादी केन्द्रीय सदस्य बालकृष्ण रानाभाटले कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालको योगदानको प्रशंसा गरे।

यस्ता सामाजिक कार्यहरूले समुदाय र पत्रकारिता क्षेत्रबीच सम्बन्ध अझ बलियो बनाउने उनले औंल्याए।

उनले भने, ‘सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको यस्तो प्रयास प्रेरणादायी छ।’

प्रेस सेन्टर गण्डकीका सचिव अर्जुन अबिरलले सेन्टरको स्थापना दिवसको अवसरमा पत्रकारिता जनमुखी हुनुपर्ने धारणा व्यक्त गरेका थिए।

उनले पत्रकारिता जनताको पक्षमा उभिनुपर्ने र समाजको यथार्थ चित्रण गर्नुपर्ने बताए।

उनले सेन्टरले सामाजिक सेवा साथै विशेषगरी प्रेस स्वतन्त्रता, पत्रकारहरूको हकहित, र लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा पत्रकारिताको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिए।

उनले पत्रकारितालाई व्यवसायिक तथा मर्यादित बनाउनका लागि प्रेस सेन्टरले अगुवाइ गर्ने प्रतिबद्धता समेत जनाए।

शाखा उपाध्यक्ष कमल जिसीले पनि प्रेस सेन्टर नेपालले विगतमा गरेका र अहिले संचालन गरिरहेका यस्ता सामाजिक कार्यक्रमहरूले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको र यसले संगठनको छवि थप उजिल्याएको औंल्याए।

सचिव राजु कल्पित सुवेदीले पनि कार्यक्रममा प्रेस सेन्टरका गतिविधिहरूलाई थप व्यवस्थित र जनमुखी बनाउने प्रतिबद्धता जनाए।

२०६१ सालमा स्थापना भएको प्रेस सेन्टर नेपालले सुरुदेखि नै पत्रकारिता क्षेत्रसँगै सामाजिक कार्यमा पनि ध्यान दिँदै आएको छ।

संस्थाले विगतका वर्षहरूमा रक्तदान, शैक्षिक सामग्री वितरण, विपद् व्यवस्थापन सहायता, र अन्य विविध सामाजिक गतिविधिहरू संचालन गर्दै आएको छ।

प्रेस सेन्टर नेपालले आफ्नो स्थापना दिवस देशभर मनाउने परम्परालाई निरन्तरता दिँदै यस पटक पनि नवलपुर शाखाले सामुदायिक सेवामा केन्द्रीत कार्यक्रम संचालन गरेको हो।

अध्यक्ष भुजेलका अनुसार यस प्रकारका कार्यक्रमले प्रेस सेन्टर नेपालको उद्देश्यलाई मात्रै पूरा गर्दैन, समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्छ।

स्थापनादेखि नै पत्रकारिता क्षेत्रको सुदृढीकरणका लागि काम गर्दै आएको प्रेस सेन्टर नेपालले हरेक वर्ष माघ १५ लाई विशेष महत्व दिँदै स्थापना दिवस मनाउँदै आएको छ।

यस वर्षको कार्यक्रमले सामाजिक उत्तरदायित्वलाई अझ मजबुत बनाउँदै स्थानीय तहमा सेवा पु-याउने प्रयास गरेको छ।

स्थापना दिवसको अवसरमा आयोजित यस कार्यक्रमले प्रेस सेन्टर नेपालको सामाजिक प्रतिबद्धता मात्र होइन, पत्रकारिताले समाजसँग नजिक हुनुपर्ने सन्देश पनि दिएको छ।

भविष्यमा यस्ता सामाजिक गतिविधिहरूलाई अझ प्रभावकारी बनाउँदै लैजाने योजनासहित कार्यक्रम सम्पन्न भएको थियो।