उत्कृष्ट गैर सैनिक फोटो पत्रकारहरुलाई पुरस्कार प्रदान

नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८१’ सुरु

जनसम्मत
माघ १५, २०८१, मंगलवार

नेपाली सेनाले फोटो प्रतियोगितामा उत्कृष्ट ३ जना गैर सैनिक फोटो पत्रकारलाई पुरस्कृत गरेको छ।

जंगी अड्डामा आज (मंगलबार) देखि आयोजित ‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८१’ को शुभारम्भका क्रममा प्रधान सेनापति अशोकराज सिग्देलले उत्कृष्ट फोटो पत्रकारहरुलाई पुरस्कार प्रदान गरे।

गैर सैनिक फोटो पत्रकारतर्फ प्रवीन रानाभाट प्रथम भए।

त्यसैगरी, प्रतिमा राजभण्डारी दोस्रो बनिन्।

सरोज बैजु तेस्रो भए।

साथै, सैनिक फोटोग्राफरतर्फ प्राविधिक जमदार राजीव हेङ्जु प्रथम भए।

सो अवसरमा सेनाकै युनिटहरूमध्येबाट प्रथम पूर्वी पृतना हेडक्वार्टर, दोस्रो विकास निर्माण निर्देशनालय र तृतीय भएका युद्ध कवच गण सम्मानित भएका छन्।

सोही अवसरमा प्रधानसेनापति सिग्देलले फोटो प्रतियोगिताको मूल्यांकन समितिमा रहेका राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार रत्न श्रेष्ठ, फोटो पत्रकार वर्षा शाह र प्राविधिक सेनानी सुलभ श्रेष्ठलाई कदर–पत्र प्रदान गरे।

इतिहास, कला, संस्कृति र परम्पराको जगेर्ना गर्न तस्बीरको माध्यमबाट योगदान गरेका सुनिल उलकसमेतलाई कदर–पत्र प्रदान गरे।

सेनाले तस्बीरको माध्यमबाट इतिहास, कला, संस्कृति र परम्पराको जगेर्ना गर्न सैनिक तथा गैर सैनिक व्यक्तिको विशेष योगदानलाई कदर गर्दै फोटो प्रतियोगिता संचालन गर्दै आएको छ।

तस्बीरः बिजमाण्डू डट कमबाट साभार