पत्रकार ईन्द्र पौडेललाई प्रेस चौतारी पत्रकारिता पुरस्कार

गणेशमान गुरूङलाई चौतारीको सम्मान

जनसम्मत
माघ १७, २०८१, बिहीवार

पोखराका कृयाशील पत्रकार इन्द्र पौडेलले प्रेस चौतारी पुरस्कार पाउँदैछन्।

प्रेस चौतारी नेपाल, कास्की शाखाले स्थापना एवं संचालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ यस वर्ष ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिने भएको हो।

अग्रज पत्रकार गणेशमान गुरूङ प्रेस चौतारी पत्रकारिता सम्मान २०८१ बाट सम्मानीत हुँदैछन्।

प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसर पारी कास्की शाखाले माघ २२ गते पुरस्कार एवं सम्मान अर्पण गर्न लागेको हो।

पुरस्कारको राशी २२ हजार २ सय २२ रुपैयाँ रहेको छ।

प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार शान्ति गुरूङ संयोजक, पूर्व पुरस्कृत व्यक्तित्व केशव पाठक र अग्रज केशवशरण लामिछाने सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनौट समितिले पौडेललाई पुरस्कृत र गुरूङलाई सम्मान गर्ने निर्णय गरेको हो।

सम्मानित व्यक्तित्व गणेशमान गुरूङ २६ वर्षदेखि पत्रकारितामा कृयाशील छन्।

स्याङ्जा सिरूबारी जन्मस्थान रही पोखरा–१५ मा स्थायी बसोबास गर्दै आएका गुरूङले २०५५ सालमा पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरू गरेका थिए।

हिमचुली एफएम, गोल्डेन आई टेलिभिजन हुँदै २०६४ देखि सगरमाथा टेलिभिजनमा आबद्ध रही १३ वर्षदेखि समाचार सम्पादक पदमा कार्यरत छन्।

कानुन संकायमा बीएलसम्म अध्ययन गरेका गुरूङ २०७७ मा ‘प्रबल जनसेवा श्री चतुर्थ’ पदकबाट समेत विभूषित भइसकेका छन्।

पुरस्कृत पत्रकार इन्द्रप्रसाद पौडेल २१ वर्षदेखि पत्रकारितामा निरन्तर सकृय छन्।

२०६० सालमा समाधान र पोखरा हटलाइन दैनिकमा संवाददाता र फोटो पत्रकारिता गरेका पौडेल २०६२ सालदेखि कान्तिपुर टेलिभिजनमा आबद्ध छन्।

यस्तै, पौडेल मैदानन्यूज डटकमको संस्थापक संचालक हुन्।