पोखरामा जारी पाँचौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ घरेलु गण्डकी प्रदेश भलिबल संघ एलिमिनेटरमा प्रवेश गरेको छ ।
घरेलु गण्डकी प्रदेश भलिबल संघले टिपटप हेल्प नेपाल स्पोटर््स क्लबलाई हराउँदै एलिमिनेटरमा प्रवेश गरेको हो।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा हेल्प नेपाललाई ३–१ सेटले पराजित गर्दै गण्डकी एलिमिनेटरमा प्रवेश गरेको हो ।
पहिलो सेट २१–२५ ले गुमाएको गण्डकीले दोस्रो सेटमा २५–२१ ले जीत निकाल्दै खेलमा फर्कियो।
त्यसैगरी, गण्डकीले तेस्रो सेट २५–२२ ले जीत निकाल्दा चौथो सेटमा २६–२४ ले हेल्प नेपाललाई हराउँदै एलिमिनेटरमा स्थान बनायो।
यो जितसँगै गण्डकी ‘हार्ने समूह’ बाट ६ अंकसहित शीर्ष स्थानमा रहँदै एलिमिनेटरमा प्रवेश गरेको छ।
हेल्प नेपाल २ र विभागीय एपीएफ १ अंकसहित प्रतियोगिताबाटै बाहिरियो।
गण्डकीले अब शुक्रबार ‘जित्ने समूह’ बाट तेस्रो स्थानमा रहेको भारतको सुनिल भलिबल क्लबसँग एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ।
यसअघि, भएको खेलमा ‘जित्ने समूह’ मा भारतको सुनिल भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले पहिलो क्वालिफायर खेल्ने पक्का गरेको थियो।
पहिलो क्वालिफायरमा आर्मीले पुलिससँग खेल्नेछ।
यस्तै, आज बिहान भएको खेलमा महिलातर्फ नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै टिपटप न्यु–डायमण्ड स्पोट्र्स क्लब दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
न्यु–डायमण्डले अब फाइनल प्रवेशका लागि विभागीय सशस्त्र प्रहरी बलको एपीएफ र आयोजक टाइगर ग्रुपबीचको खेलमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ।