पोखरामा जारी पाँचौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा आज (शनिबार) दोस्रो क्वालिफायरका खेलहरु हुने भएका छन्।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी यस प्रतियोगिताको आठौं दिन (शनिबार) पुरुष र महिलातर्फ दोस्रो क्वालिफायरका खेल हुने तालिका छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने पहिलो खेल महिलातर्फको क्वालिफायर हुनेछ।
बिहान ११ बजेबाट सुरु हुने उक्त खेलमा आयोजक टाइगर ग्रुप र टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबबिच हुनेछ।
टाइगर ग्रुप पहिलो क्वालिफायरमा विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग पराजित हुँदै दोस्रो क्वालिफायरमा पुगेको थियो।
आयोजकलाई हराएको विभागीय एपीएफ भने फाइनलमा पुगेको छ।
न्यु–डायमण्डले एलिमिनेटरमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको हो।
आजको दोस्रो खेल पुरुषतर्फको दोस्रो क्वालिफायर हुनेछ।
साढे १ बजेबाट सुरु हुने उक्त खेल घरेलु गण्डकी र विभागीय त्रिभुवन आर्मी क्लबबीच हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिएका छन्।
आर्मी, पहिलो क्वालिफायरमा पुलिससँग पराजित भएको थियो।
गण्डकीले एलिमिनेटरमा भारतको सुनिल भलिबल क्लबलाई पराजित गरेको थियो।
दुवैतर्फको फाइनल खेल आइतबार हुनेछ।
प्रतियोगिताको विजेताले ५ लाख ८५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउनेछ।
उपविजेताले २ लाख ८५ हजार ५५५ पुरस्कार पाउनेछ।
तेस्रो हुनेले १ लाख ८५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।