माघ १० गते (बिहीबार), २०८१स्याङ्जाको वालिङमा कार्यालयको सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजना र वालिङ नगरपालिकाको व्यवस्थापनमा भएकामे कार्यक्रममा शान्ति सुरक्षा, अपराध, लागुऔषध दुरुपयोग नियन्त्रण र सरकारी कार्यालयहरुबाट प्रवाह गरिने सेवाहरुको बारेमा अन्तरक्रिया गरिएको हो।
कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खांँणले स्थानीय तहमा शान्ति सुरक्षा कायम गर्न नागरिकलाई सुरक्षित महशुस गराउनका लागि प्रशासन, प्रहरी र स्थानीय तहको समन्वय हुनुपर्नेमा जोड दिए।
साथै, प्रमुख खांँणले नागरिकलाई सुरक्षित बनाउन नगरले कुनै कसर बाँकी नराख्ने भन्दै प्रशासन र प्रहरीसंँग समन्वय गरेर काम गरिरहेको बताए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लाको शान्ति सुरक्षाको लागि प्रशासनको तर्फबाट सकेसम्म प्रभावकारी रुपमा काम गरिरहेको बताइन्।
यसको लागि नागरिकहरु समेत सचेत हुनुपर्ने प्रजिअ नेपालले औंल्याइन्।
प्रमुख जिल्ला अधिकारी नेपालले सकेसम्म नागरिकलाई सहजरुपमा सेवा प्रवाह गर्न आफुहरु लागि परिरहेको समेत उल्लेख गरिन्।
कानूनी ज्ञानको बारेमा जानकारीको कमीले गर्दा नागरिकले समस्या झेल्नुपरेको प्रजिअ नेपालको भनाई थियो।
यसका बारेमा जानकारी गराउनतर्फ जनप्रतिनिधिहरुले समेत सहजिकरण गर्न आवश्यक रहेको प्रजिअ नेपालले आग्रह गरिन्।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद पौडेलले अपराध नियन्त्रणका लागि प्रहरी सक्रिय भएर लागेको बताए।
प्रनाउ पौडेलले समाजमा घटने घटनाहरुका बारेमा समयमै प्रहरीलाई खबर गरेर सहयोग गर्न आग्रहसमेत गरे।
कार्यक्रममा जनप्रनिधि, विद्यालयका प्रधानाअध्यापक, वडासचिव, पत्रकार, उद्योगी व्यापारी, राजनीतिक दललगायतको सहभागिता थियो।