विभागीय सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई हराउँदै महिलातर्फ आयोजक टोली टाइगर ग्रुप टाइगर कप भलिबलको च्याम्पियन बनेको छ।
पोखरामा सम्पन्न पाँचौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि आयोजक टाइगर ग्रुपले जितेको हो।
पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा एपीएफलाई ३–२ को सेटमा पराजित गर्दै आयोजक टोली टाइगर ग्रुप पहिलो पटक महिलातर्फको च्याम्पियन बन्यो।
पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो।
पुनः तेस्रो सेट २१–२५ ले एपीएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५–१६ ले सहज जित निकाल्दा खेल पाँचौ सेटमा धकेलियो।
पाँचौं सेटमा आयोजक टोलीको उत्कृष्ट प्रदर्शनमा १५–१३ को कठिन जित निकाल्दै उपाधि चुम्न सफल रह्यो।
पहिलोपटक सहभागिता जनाएको आयोजक टोलीले पहिलो पटकमै उपाधि चुमेको हो।
उपाधि जितेको टाइगर ग्रुपले ५ लाख ८५ हजार ५५५ रुपैयाँ पुरस्कार जित्यो।
उपविजेता, विभागीय एपीएफले २ लाख ८५ हजार ५५५ रुपैयाँ पुरस्कारमा चित्त बुझायो।