३८ युट्युब च्यानलमाथि कारबाही

‘अमला काण्ड’ नाम दिएर झापा घटनालाई अतिरञ्जित गर्ने च्यानलहरुलाई कारवाहीका लागि नेपाल प्रहरी (साइबर ब्युरो) मा पत्राचार

जनसम्मत
माघ २४, २०८१, बिहीवार

प्रेस काउन्सिल नेपालले ३८ युट्युब च्यानलमाथि कारबाही गरेको छ।

झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई ‘अमला काण्ड’ नाम दिई पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो र तस्बीरहरूसमेत राखी सम्प्रेषण गर्ने ३८ युट्युब च्यानललाई कारबाही गरेको छ।

घटनालाई अतिरञ्जित गराई पीडित परिवारलाई अमर्यादित प्रश्नहरू सोध्ने, संवेदनहीन बहसलाई प्राथमिकता दिई दर्शक (भ्युअर) बढाउने उद्देश्यले चरित्रहत्या गर्ने किसिमबाट सनसनीपूर्ण बनाई सामग्री संप्रेषण भएपछि कारबाही गरिएको काउन्सिलले बुधबार एक विज्ञप्तिमार्फत जानकारी दिएको हो।

‘प्रचलित ऐन, नियम, निर्देशिका, आचारसंहिता गंभीर उल्लंघन गरेका तर आफ्ना सम्पर्क विवरण नराखेका तथा मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई प्रचलित कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा पत्राचार गरिएको छ’, काउन्सिलका सूचना अधिकारी सह–प्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

काउन्सिलले यस घटनासँग सम्बन्धित रहेर आधार प्रमाण पुष्टि नभएको विषयमा वैयक्तिक गोपनीयता प्रतिकूल हुने किसिमबाट पीडित र आरोपितको नाम, वतन, तस्बीर तथा भिडियो सामग्री संप्रेषण गरी पीडित र पीडितका परिवारलाई थप पीडा पुग्ने र सार्वजनिक संवेदनशीलतामा असर पर्ने सामग्री संप्रेषण गरी पत्रकार आचारसंहिता उल्लंघन गरेको विज्ञप्तिमा उल्लेख छ।

काउन्सिलले युट्युब तथा फेसबुकबाट संप्रेषण भएका पत्रकारिताका मूल्य र मान्यताविपरीत, गलत, समाजमा घृणा, द्वेष, उत्तेजना,अफवाह फैलाउने, सामाजिक सद्भाव बिगार्ने त्यस्ता सामग्री हटाउन भनेको छ।

‘आरोप र शंकाकै आधारमा आफैं अदालत झैं गरी अप्रमाणित विषयलाई दोषी करार गर्ने, वैयक्तिक गोपनीयता प्रतिकूल हुने, महिला,जेष्ठ नागरिक, बालबालिकाको आत्मासम्मानमा आँच पु¥याउने सामग्री क्षमायाचनासहित हटाउन प्रेस काउन्सिल नेपाल सम्बद्ध सबैमा आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

हेरौँ, विज्ञप्ति