विभागीय नेपाल पुलिस क्लबले आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ।
पोखरा रंगशालामा आज (शनिबार) भएको पहिलो क्वाटरफाइनलमा विभागीय टोली पुलिसले ब्रिगेड ब्वाइज क्लब युकेलाई २–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो।
पुलिसको जीतमा विवेक पाण्डे र राम वजीले १÷१ गोल गरे।
प्री–क्वाटरफाइनलको उद्घाटन खेलमा विभागीय पुलिसले आयोजक सहारा क्लब पोखरालाई हराउँदै क्वाटरफाइनल खेलेको हो।
यता, युकको पाहूना टोली ब्रिगेड ब्वाइजले भने सिधा बाई पाएर क्वाटरफाइनल खेलेको हो।
पूर्व विजेता टोलीहरु आयोजक सहारा क्लब, एपीएफ र संकटा यस पटकको पोखरा गोल्डकपबाट बाहिरिसकेका छन्।
थन्डरबोल्टले क्वाटरफाइनलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग खेल्नेछ।
ब्ल्याक बुल्स हिजो नेपाल आइपुगेको छ।
२४ औं संस्करणको पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ।
प्रतियोगिताको विजेताले १२ लाख १ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ।
उपविजेताले ६ लाख १ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ।