सामाजिक सञ्जाल विधेयक प्रावधानमाथिको ध्यानाकर्षण

ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘सामाजिक सञ्जालसम्बन्धी विधेयकलाई संशोधनपछि मात्रै अघि बढाउनुपर्छ’

जनसम्मत
माघ २९, २०८१, मंगलवार

अनलाइन टिभी पत्रकार संघले सामाजिक सञ्जाल विधेयकका प्रावधानका विषयमा संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ध्यानाकर्षण गराएको छ।

मंगलबार संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापालाई ध्यानाकर्षण पत्र बुझाएको हो।

संघले ध्यानाकर्षणपत्रमा सामाजिक सञ्जाल सम्बन्धी विधेयकलाई संशोधनपछि मात्रै अघि बढाउनुपर्ने समेत जनाएको छ।

संघले विधेयकले खबरदारी तथा आलोचना गर्न पाउने नागरिकको आधारभूत अधिकारलाई कुण्ठित गर्ने काम गरेको जनाएको छ।

नागरिकका अधिकार हनन हुने प्रावधान हटाएर मात्रै विधेयक अघि बढाउनुपर्ने संघको भनाई छ।

संघको ध्यानाकर्षण पत्र बुझ्दै समिति सभापति थापाले विधेयकबारे छलफल चलाउने प्रतिबद्धता जनाएका छन्।

सरकारले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको मौलिक हक र प्रेस स्वतन्त्रताको मर्मविपरीत नियन्त्रणमुखी कानून बनाएर बनाउन खोजेको भन्दै सामाजिक सञ्जाल विधेयकको विरोध भइरहेको छ।