१९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ।
नेपाली खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आज (विहीबार) पोखरामा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो।
मञ्चका अध्यक्ष दिल बहादुर गुरूङका अनुसार पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका ३ हजार १७५ धावकहरुको सहभागिता जनाएने छन्।
जसअनुसार खुल्ला म्याराथन ४२.१९५ किमि पुरुषतर्फ २१ देशका ८० विदेशीसहित १५० जनाको प्रतिस्पर्धा रहनेछ।
उक्त स्पर्धामा महिलातर्फ ८ जनाले प्रतिस्पर्धा गर्दैछन्।
त्यसैगरी, हाफ म्याराथन २१.०१९७ किमि महिलातर्फ १० देशका ४० जना, हाफ म्याराथन पुरुषतर्फ १० विदेशीसहित ११० जना, १० किमि पुरुषतर्फ ११ विभिन्न देशका २ सय ११ जना, १० किमि महिलातर्फ ११ विदेशीसहित १०९ जना, ५ किमि भेट्रान्स (५० वर्ष) पुरुष र महिलातर्फ गरी ६० जना, ५ किमि छात्रतर्फ १ हजार ४७० तथा छात्रातर्फ १ हजार २५ जना गरी कूल ३ हजार १ सय ७५ जनाले दर्ता गराएका छन्।
‘रन फर फन’ को विधामा करिव ७ हजार गरी १० हजार जनाको सहभागिता रहने मञ्चले जनाएको छ।
‘पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानको लागि दौडौ’ भन्ने नारालाई अघि सार्दै आयोजना गरिएको १९ औं संस्करणको यस म्याराथनमा १४ विभिन्न क्याटोगरीमा गरी २१ लाख ३४ हजार नगद पुरस्कार प्रदान गरिने छ।
जसमा म्याराथनको विजेताले ५ लाख पुरस्कार पाउनेछन्।
यस संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि कूल खर्च १ करोड ८९ हजार खर्च हुने अध्यक्ष गुरूङले जानकारी दिए।
पोखरा रंगशालाबाट सुरू हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथन संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नेछन्।
रंगशालाबाट सुरू भएको म्याराथन पोखरा नगरको विभिन्न भाग परिक्रमा गरी पोखरा ६ हल्लनचोकमा पुगेर सम्पन्न हुने पूर्व अध्यक्ष तेजबहादुर गुरूङले जानकारी दिए।
नेपालकै जेठो म्याराथन पोखरा म्याराथन एम्समा दर्ता रहेको म्याराथन मध्ये एक म्याराथन पूर्ण रुपमा प्रविधिमैत्री रहेको छ।