संचारमाध्यमहरुले प्रवाह गर्ने सूचना नागरिकको जीवन सहज बनाउनेतर्फ केन्द्रीत हुनुपर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन्।
विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) द्वारा आज (विहीबार) ललितपुरमा आयोजित रेडियो र जलवायु परिवर्तन कार्यक्रमअन्तर्गत भएको कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन्।
‘पहुँच र जवाफदेही मौसम तथा जलवायु सूचना सुनिश्चितता गर्न बहुसरोकार भएकाको संग्लग्नता’ विषयक समूहगत छलफलमा धारणा राख्ने वक्ताले संचारमाध्यम जनताका लागि जनताका अवसर संप्रेषण गर्ने हुनुपर्नेमा जोड दिए।
संघीय संसद्को कृषि, सहकारी तथा प्रकृति स्रोत समितिका सभापति कुसुमदेवी थापाले जलवायुको उच्च जोखिममा परेको हिमाली क्षेत्रमा नेपाल अवस्थित रहेकाले प्रकृतिमा आधारित रहेर काम गर्ने ६२ प्रतिशत किसानलाई मध्यनजर गर्दै मौसम पूर्वानूमान सूचना प्रवाहमा प्रभावकारी काम गर्नुपर्ने धारणा राखिन्।
‘नेपालले जलवायु परिवर्तन कोषको उपयोग र व्यवस्थापन क्षेत्रमा महत्वका साथ काम गर्नुपर्छ। मौसम पूर्वानुमान सूचना प्रणालीको नीतिगत व्यवस्थापनमा जोड दिनुपर्छ। सूचना प्रणालीमा रेडियोको भूमिका महत्वपूर्ण हुने भएकाले ३ तहका सरकारसँग समन्वय गर्दै नागरिकलाई सही समयमा सही सूचना प्रवाह गर्नुपर्छ’, उनले भनिन्।
उनले वनजंगलमा खेर गइरहेको पातपतिङ्गरलाई प्राङ्गरिक मल उत्पादन गर्न सक्ने भन्दै यसबाट वनमा लाग्ने आगलागीका घटना न्यूनीकरण हुने धारणा राखिन्।
अर्थ मन्त्रालयअन्तर्गत जलवायु वित्त विभागका प्रमुख ओमप्रकाश भट्टराईले जलवायु परिवर्तन र अर्थतन्त्रमध्ये कुनलाई प्राथमिकता दिने भन्ने विषय विश्वमा प्रमुख बहसको विषय बनेको बताए।
उनले सन् २०४५ सम्म जिरो कार्बन उत्सर्जन गर्ने नेपालको लक्ष्यअनुसार २७६ विलियन अमेरिकी डलर आवश्यक पर्ने उल्लेख गरे।
‘सरकारको आर्थिक नीतिमा पनि दबाब रहेको अवस्थामा जल तथा मौसम सूचना प्रणाली कम प्राथमिकतामा परेको छ। नियमित खर्चलाई व्यवस्थापन गर्दै जलवायु तथा मौसम विज्ञानको क्षेत्रलाई प्राथमिकतामा राखी काम गर्नुपर्छ’, उनले भने।
उनले राज्यको मुख्य दायित्व नागरिकको सुरक्षा गर्ने भएकाले जलवायु परिवर्तनसम्बन्धी सूचना प्रणाली अनिवार्य आवश्यकता भएको बताए।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले सूचना प्रणालीमा भएको सुधार र प्रविधिको विकासले मौसम पूर्वानुमानमा सहज भएको उल्लेख गरे।
‘अहिलेको समयमा मौसम पूर्वानुमान सतप्रतिशत मिलेको छ। क्षति नहोस् भनेर पूर्वसूचना प्रणालीलाई सुधार गर्दै लगेका छौँ’, उनले भने, ‘मौसम पूर्वानुमान सूचना प्रणालीमा रेडियोको भूमिका महत्वपूर्ण छ। सरकारले सूचना प्रवाहमा आम नागरिकको पहुँच भएको रेडियोको उपयोगमा जोड दिनुपर्छ।’
जल तथा मौसम पूर्वानुमान विभागले गरेको मौसम पूर्वानुमानको आधारमा विद्युत् प्राधिकरणले आफ्नो योजना बनाएर विद्युत् आयात र निर्यात गर्ने अवस्थामा पुगेको महानिर्देशक जोशीले बताए।
‘मौसम पूर्वानुमानको आधारमा हरेक १५ दिनमा खोलामा उपलब्धता हुने पानीको अनुमानका आधारमा विद्युत् प्राधिकरणले काम गरेर विद्युत् व्यवस्थापनको काम गरिरहेको छ’, उनले भने।
सार्वजनिक सेवा प्रसारक संघ नेपालका नायब महाप्रबन्धक आरती चटौतले किसानलाई खेतीपातीसँग जोडेर संचारमाध्यमले जल तथा मौसम पूर्वानुमानका सूचना प्रसारण गर्नुपर्नेमा जोड दिइन।
‘कसलाई सूचना दिने भनेर ध्यान दिनुपर्छ, संचारको शैली र सूचना प्रवाह गर्न खोजेको समुदायलाई लक्षित गर्न सक्नुपर्छ’, उनले भनिन्।
उनले अन्तरराष्ट्रियस्तर वा सरकारीस्तरबाट प्राप्त सूचनाको आधारमा रेडियो तथा अन्य संचारमाध्यमले आधिकारिक र सत्य समाचार संप्रेषण गर्नुपर्नेमा जोड दिइन्।
‘संचारमाध्यमले दिने सूचनाले नागरिकको जीवन र भूमिकालाई सकारात्मक प्रभाव पार्न, सूचित गर्न र लक्षित समूहलाई लाभान्वित गर्त सक्नुपर्छ।
सूचना प्रसारणको विधि वा तरिकालाई परिवर्तन गरी जनतालाई विश्वास दिने खालका सूचना दिनुपर्छ’, उनले भनिन्।