‘नेपाली रेडियो नेटवर्क‘ ले ‘कृत्रिम बुद्धिमता अर्थात आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति जारी गरेको छ।
‘विश्व रेडियो दिवस‘को अवसरमा आज (बिहिबार) एक कार्यक्रमको आयोजनाबीच उक्त नीति जारी गरेको हो।
विश्वभर सूचना प्रविधिको विकाससँगै विभिन्न क्षेत्रमा एआईको प्रयोग तीव्र रुपमा बढ्दै गइरहेको छ भने पछिल्लो समय नेपाली संचार क्षेत्रमासमेत यसको प्रयोग व्यापक रुपमा बढ्दै गएको पाइन्छ।
यसैलाई मध्यनजर गरी नेपालकै सबैभन्दा ठूलो रेडियो नेटवर्क ‘नेपाली रेडियो नेटवर्क‘ तथा रेडियो एनआरएन ९९.१ ले यसको सही सदुपयोग गरी विश्वसनिय समाचार सम्प्रेषण गर्ने उद्देश्यले आज नेपालमै पहिलोपटक एआई नीति जारी गरेको हो।
कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालमै पहिलोपटक नेपाली रेडियो नेटवर्कले एआई नीति जारी गरि सिंगो देशलाई एआईप्रति थप जिम्मेवार र जवाफदेही बन्न प्रेरित गरेको बताए।
उनले नीति सफल कार्यान्वायनको लागि आवश्यक सहजीकरण गर्ने र नेपालमा रहेका अन्य एआई प्रयोगकर्ताहरुलाई पनि यसतर्फ प्रेरित गर्ने प्रतिवद्धता जनाए।
कार्यक्रममा ‘नेपाली रेडियो नेटवर्क‘का अध्यक्ष वरिष्ठ पत्रकार ऋषि धमलाले नीति पूर्ण रुपमा कार्यान्वायन गर्ने प्रतिवद्धता जनाए।
उनले नेपाली रेडियो नेटवर्क विश्वमा विकसित सुचना प्रविधीहरुको उचित सदुपयोग गरी आम श्रोताहरुमा विश्वसनिय समाचार सम्प्रेषणमा पूर्ण प्रतिवद्ध रहेको बताए।
उनले पछिल्लो समय रेडियोको घट्दो प्रयोग पनि एआई जस्ता प्रविधीको प्रयोगले पुनः लोकप्रियता बढाउँदै लगेपछी रेडियोप्रतिको आकर्षण बढेको पनि उल्लेख गरे।
नेपाली रेडियो नेटवर्कका समाचार निर्देशक जीवन भण्डारीले विश्वभर बढ्दो सूचना प्रविधीको विकास र आयामलाई आत्मसात गरी भरपूर सदुपयोग गर्दै अगाडी बढ्नुुपर्ने आजको आवश्यकता रहेको बताए।
उनले रेडियो सामग्री संकलन, लेखन, निर्माण, सम्पादन र प्रकाशन वा प्रसारणमा एआईको उचित प्रयोग गर्ने उद्देश्यले नीति जारी गरिएको बताए।
उनले एआई सम्बन्धी नीति हरेक ६/६ महिनामा समीक्षा गरी आवश्यकताअनुसार परिमार्जन गरि समयानुकुल र विश्वसनिय बनाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे।
सूचना प्रविधिको विकाससँगै विभिन्न क्षेत्रमा कृत्रिम बुद्धिमत्ता अर्थात आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तीव्र रुपमा बढ्दै गइरहेको छ। यसको प्रयोग संचार क्षेत्रमा पनि व्यापक रुपमा भइरहेको छ। संचारमाध्यममा एआईको सही, जिम्मेवार र विश्वसनीय प्रयोगका लागि छुट्टै नीतिको आवश्यकता महसुस गरिएको छ।
यस्तो अभ्यास विश्वका केही सञ्चार माध्यमहरूमा सुरु भइसकेका छन् भने नेपालमा खासै प्रयोग नभएकै सन्दर्भमा आज हामीले रेडियो दिवसको अवसर पारेर नेपाली रेडियो नेटवर्कका लागि एआइ नीति घोषणा गरी लागू गरेका छौं। निम्न बमोजिमको ‘नेपाली रेडियो नेटवर्क एआइ नीति’मा हामी प्रतिब छौं।
एआईको प्रयोग गर्दा सही तरिकाले जिम्मेवार र विश्वसनीय हुनेगरी मात्रै गरिनेछ।
कुनै पनि रेडियो सामग्री संकलन, लेखन, निर्माण, सम्पादन र प्रकाशन वा प्रसारणमा एआईको उचित प्रयोग गरिनेछ।
कुनैपनि समाचार वा रिपोर्टमा एआईको प्रयोग भएमा त्यसको जानकारी गराइनेछ।
एआईद्वारा सिर्जित सामग्रीमा एआईको कुनै संकेत उल्लेख गरिनेछ।
एआईको प्रयोगबाट कुनै गल्ती कमजोरी र हानि भएमा माफी माग्दै त्यसको जिम्मेवारी संचारमाध्यम र पदाधिकारीहरूले नै लिइनेछ।
समाचार, कार्यक्रम तथा विज्ञापन उत्पादन तथा प्रसारणका सिलसिलामा एआईको प्रयोग गरेपनि अन्तिम निर्णय मानव पदाधिकारीबाट नै गरिनेछ।
एआईलाई कुनैपनि काम गर्ने सहयोगी माध्यमको रुपमा मात्रै प्रयोग गरिनेछ।
एआई मार्फत सिर्जित सबै सामग्रीको पुनः परीक्षणपछि मात्रै प्रयोग गरिनेछ।
एआईको प्रयोगबाट मानवीय कार्य गुणस्तरमा कमी नआउनेतर्फ ध्यान दिइनेछ।
एआईको प्रयोगकै कारणले मानव शक्तिलाई विस्थापित नहुनेतर्फ भर मग्दुर प्रयास गरिनेछ।
एआईको प्रयोगका लागि जनशक्तिलाई अभिमुखीकृत गर्दै सक्षम बनाइनेछ।
एआईद्वारा सिर्जित सामग्रीमा मानवीयपनको ध्यान दिइनेछ।
एआईको अभ्यासका क्रममा प्रयोग हुने तथ्य तथ्यांक तथा सिर्जनाहरूको प्रतिलिपि अधिकार ख्याल गरिनेछ।
एआईबाट सिर्जना गरिएका सामग्रीमा कसैको अनुमति लिनुपर्ने भएमा अनुमति लिइनेछ।
एआई मोडलले कुनै समूह, जाति, लिङ्ग वा समुदायलाई पक्षपात गरेमा सच्याइनेछ।
कुनैपनि भ्रम वा गलत सन्देश जाने एआईद्वारा सिर्जित सामग्रीहरुलाई प्रयोग गरिने छैन।
एआईको सहयोगमा तयार पारिएका सामग्रीबारे गुनासो लिने र सुनवाई गर्ने व्यवस्था गरिनेछ।
नेपाली रेडियो नेटवर्कको एआइ सम्बन्धी नीतिको हरेक ६ /६ महिनामा आन्तरिक रुपमै समीक्षा गरिनेछ।
आवश्यकताअनुसार यो एआइ प्रयोगसम्बन्धी नीतिको परिमार्जन गरिनेछ।