पाहूना टोली उज्बेकिस्तानको ब्ल्याक बुल्स २४ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप च्याम्पियन बनेको छ।
पोखरा रंगशालामा शनिबार सम्पन्न यस संस्करणको फाइनल खेलमा विभागीय पुलिस क्लबलाई हराएसँगै आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताले नयाँ च्याम्पियन पाएको हो।
६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई शनिवार ३–१ ले हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४ औं आहा राराको उपाधि जित्यो।
उपाधिसँगै पाहूना टोली ब्ल्याक बुल्सले १२ लाख १ हजार पुरस्कार जित्यो।
उपविजेता विभागीय पुलिसले ६ लाख १ हजार पुरस्कारमा चित्त बुझायो।
आहा ! रारा गोल्डकप जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी टोली बन्यो।
यसअघि, २०६२ सालमा पुलिसलाई नै हराएर अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो।
आहा ! रारा गोल्डकपमा ५ वर्षपछि फाइनलमा पुगेको पुलिस पाचौँ पटक उपविजेतामा सीमित बन्यो।
ब्लयाक बुल्सको जीतका लागि कप्तान जाकोन्गिर अक्माडोभ, असिलबेक ओरिफजोनोभ र सभ्कात्जोन सत्तारोभको योगदान गरे।
पुलिसका शिशिर चौधरीले गरेको गोल सान्त्वना बन्यो।
७४ औँ मिनेटमा उज्वल राईको फ्री–किकमा शिशिरले हेडर गोलबाट पुलिस खेलमा फर्कने संकेत गरेको थियो।
त्यसअघि, नै ब्ल्याक बुल्सले ३–० को अग्रता बनाएको थियो।
४० औं मिनेटमा कप्तान जाकोन्गिर अक्माडोभको फ्री–किक गोलमा ब्ल्याक बुल्सले सुरुवाती अग्रता बनायो।
पुलिसका प्रज्वल चौधरीले ब्ल्याक बुल्सका खेलाडीलाई फाउल गरेपछि पाहुना टोलीले फ्री–किकको मौका पाएको थियो।
त्यसलाई कप्तान जाकोन्गिर अक्माडोभले खेर जान दिएनन्।
उनको शसक्त फ्री–किक प्रहार पुलिसका गोलकिपर शत्रुधन चौधरीले बचाउने क्रममा पहिलो बारको जाली च्याप्दै गोल भयो।
५९ औं मिनेटमा असिलबेक ओरिफजोनोभको गोलमा ब्ल्याक बुल्सले अग्रता दोब्बर बनायो।
अजिजबेकको क्रसलाई नियन्त्रणमा लिदैँ असिलबेकले गोल गरेका हुन्।
६६ औं मिनेटमा सभ्कात्जोन सत्तारोभले गोल गरेपछि ब्ल्याक बुल्सले ३–० को सहज अग्रता बनाएको थियो।
आहा ! रारा जित्ने ब्ल्याक बुल्स नवौं टोली हो।
यसअघि, पुलिस र मनाङ मस्र्याङ्दी क्लबले समान ६÷६ उपाधि जितेको छ।
थ्री स्टार क्लबले ५ उपाधि जितेको छ।
संकटा क्लबले २ पटक उपाधि जितेको छ।
अफ्रिकन युनाइटेड, आयोजक सहारा क्लब पोखरा, विभागीय एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लबले समान १/१ पटक च्याम्पियन बनेका थिए।
यसअघि, सभापति कप, बुढासुब्बा, भरतपुर गोल्ड कप गरी ३ प्रतियोगितामा लगातार पहिलो खेलबाटै बाहिरिएको पुलिस आहा ! रारा गोल्डकपमा भने ३ खेल जित्दै फाइनल पुगेको थियो।
उज्वेकिस्तानको टोलीसँग पराजित भएसँगै पुलिस कीर्तिमानी सातौं पटक विजेता बन्ने अवसरबाट चुकेको छ।