आगामी शनिबारदेखि पोखरा भ्रमण वर्ष–२०२५ सुरु हुँदैछ।
पोखरामा २० लाख पर्यटक भित्राउने गरी पोखरा महानगरले सन् २०२५ लाई पोखरा भ्रमण वर्ष मनाउन लागेको हो।
पत्रकार सम्मेलनमार्फत २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्राउने लक्ष्यसहित ‘पोखरा भ्रमण वर्ष’ घोषणाको तयारी गरिएको जनाइएको छ।
पोखरा भ्रमण वर्ष–२०२५ को औपचारिक घोषणा शनिबार (फागुन ३ गते) पोखरा प्रदर्शनी केन्द्रबाट गर्ने तयारी गरिएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताए।
चीन र भारतबाट विदेश घुम्ने १८ करोड पर्यटकको सानो हिस्सामात्रै पोखरा आए पनि त्यसले यहाँको आर्थिक पक्षलाई बलियो बनाउने आचार्यको दावी छ।
भ्रमण वर्षका अवसरमा विदेशमा पोखराको प्रवर्द्धन गर्ने गरी सद्भावना दूतसमेत घोषणा गर्ने तयारी गरिएको छ।
वर्षभरी पोखराको पर्यटन प्रवर्द्धनात्मक गतिविधि संचालन गरिनेछन्।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा भ्रमण वर्षले पर्यटनको क्षेत्रमा राम्रो हुने बताए।
त्यसलाई सफल बनाउनका लागि पर्यटनसँग सम्बद्ध संघसंस्थाले सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए।
भ्रमण वर्ष सफल बनाउन मेयर आचार्यको मूल संयोजकत्वमा विभिन्न समिति बनाइएको छ।
पोखरालाई गत वर्षमात्रै पर्यटन राजधानी सहर घोषणा गरिएको थियो।
भ्रमण वर्षको अवधिभर क्रियाशील रहनेगरी नगर प्रमुख आचार्यको संयोजकत्वमा मूल समारोह समिति, एक निर्देशक समिति, पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईको संयोजकत्वमा कार्यसम्पादन समिति र विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी ४३ वटा समिति गठन गरिएको पोखरा महानगरपालिकाले जनाएको छ।