‘पोखरा भ्रमण वर्ष–२०२५’ सुरु भएको औपचारिक घोषणा

वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्य, भ्रमण वर्षभर विभिन्न १५ संस्थाले पर्यटकलाई १० देखि २० प्रतिशतसम्म छुट दिदैछन्

जनसम्मत
फागुन ३, २०८१, शनिबार

‘पोखरा भ्रमण वर्ष–२०२५’ शनिबारदेखि सुरु भएको छ।

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आज (शनिबार) एक समारोहबीच ‘पोखरा भ्रमण वर्ष–२०२५’ सुरु भएको औपचारिक रुपमा घोषणा गरिएको छ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भ्रमण वर्षको औपचारिक शुभारम्भ गरेका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारीलगायतको उपस्थिति रहेको कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भ्रमण वर्षको औपचारिक शुभारम्भ गरेका हुन्।

४ चैत ०८० मा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको थियो।

भ्रमण वर्ष घोषणा गर्नुअघि पोखरा रंगशाला, पोखरा सभागृह र चिप्लेढुंगाबाट निस्किएको झाँकीसहितको र्‍याली पोखरा नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा आएर औपचारिक समारोहमा परिणत भएको थियो।

महानगरपालिकाका उपप्रमुख मञ्जुकुमारी गुरुङले २० लाख आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष सुरु भएको बताएकी छन्।

महानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँले भ्रमण वर्षभर विभिन्न १५ संस्थाले पर्यटकलाई दिने सेवा–सुविधामा १० देखि २० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन्।

उनका अनुसार सबैभन्दा धेरै होटेल संघ पोखराले आवासमा २० प्रतिशत छुट दिने भएको बताएका छन्।

त्यसैगरी, रेवान पोखराले खाजा–खानाको छुट्टै मेनु व्यवस्था गर्ने बताएको छ।

नाटा गण्डकीले टुर प्याकेजमा १५ प्रतिशतसम्म छुट दिने बताएको छ।

टान गण्डकीले पदयात्रा प्याकेजमा १५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।

बेलुन नेपालले हट एयर बेलुन उडानमा १५ प्रतिशतसम्म छुट दिने बताएको छ।

हाई ग्राउन्ड नेपालले बन्जी/जिपलाइन/एटीभी/स्काई स्किमरमा १५ प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ।

पोखरा अल्ट्रालाइटले १५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।

एभिया क्लब पोखराले अल्ट्रालाइट उडानमा १५ प्रतिशतसम्म छुट दिने बताएको छ।

प्याराग्लाइडिङ उडानमा १० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।

पोखरेली ट्याक्सी सेवा प्रालिले ट्याक्सी सेवामा १० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।

एगा पोखराले गार्मेन्ट सामान खरिदमा १५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।

टेसा पोखरा ट्रेकिङका सामान खरिदमा १० तथा नारा पोखरा जलयात्रामा १० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाएको छ।

नेपाल पर्वतारोहण संघले पर्वतारोहणमा १० तथा ग्रामीण घरवास कार्यक्रम (महानगरभित्र) होमस्टेमा १५ प्रतिशत छुट दिने औपचारिक जानकारी गराएका छन्।