शम्भु श्रेष्ठ समाजवादी प्रेस संगठनको अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।
समाजवादी प्रेस संगठनको हालै सम्पन्न दोस्रो राष्ट्रिय भेलाले संगठनको संस्थापक अध्यक्षसमेत रहेका श्रेष्ठलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो।
संगठनको उपाध्यक्षमा हृदय भुसाल, महासचिवमा रोहित दाहाल, कोषाध्यक्षमा भरतराज पोखरेललाई मनोनित गरेको छ।
रिक्त रहेका ती पदमा नेतृत्व छनोट गर्न भेला बोलाइएको थियो।
यसअघि, महाधिवेशनले निर्वाचित गरेको कार्यसमितिलाई सोही पदमा रहने व्यवस्थालाई भेलाले अनुमोदन गरेको छ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले संगठनलाई अनुशासित, थप मर्यादित र गतिशील बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्न भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
श्रमजीवी पत्रकारहरुको हकहित अधिकार संरक्षण गर्न संगठनले सशक्त रुपमा कार्यक्रम गर्ने श्रेष्ठले बताएका छन्।
उनले आगामी एक वर्षभित्र देशभर संगठन सुदृढीकरण गर्ने बताएका छन्।
भेलाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई नियमनको नाममा कठोर नियन्त्रण गर्ने सामाजिक सञ्जाल विधेयक तत्काल फिर्ता गरी नेपाल पत्रकार महासंघ, समाजवादी प्रेस संगठन नेपाललगायतको सहभागितामा विधेयक परिमार्जन गर्न सरकारसँग माग गर्दै १० बुँदे घोषणा पत्र जारी गरेको छ।
प्रेस काउन्सिललगायत राज्यका विभिन्न संचारसँग सम्बद्ध निकाय, पत्रकार महासंघसमेतका निकायमार्फत प्रदान गरिने पुरस्कार सम्मान, शोधवृत्ति, तालिम, प्रशिक्षणलाई समावेशीता र निष्पक्षताका आधारमा संचालन एवं वितरण गर्न सम्बन्धित पक्षसँग भेलाले आह्वान गरेको छ।