नेपालको एकमात्र न्यूज एजेन्सी राससलाई सूचना प्रविधिको महत्वलाई जोड दिन सुझाव दिइएको छ।
राससको ६४ औं वार्षिकोत्सवको अवसरमा पोखरामा आयोजित ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सुझाव दिए, ‘न्यूज एजेन्सी संस्थालाई सूचना प्रविधिमा आधारित राससका रुपमा विकास गरिनुपर्छ।’
उनीहरुले स्वयं राससको ‘इन हाउस’ व्यवस्थित बन्नुपर्नेमा सुझाव दिए।
व्यवसायिक समाचार सामग्री उत्पादन गर्न उनीहरुले सुझाव दिएका छन्।
‘राससको समाचार सामग्रीमा विकास निर्माणका सामग्रीलाई भन्दापनि सरकारका मन्त्री र राजनीतिक दलका नेताहरुको भाषणलाई प्राथमिकतामा दिइएको छ। विकास निर्माण र आवाजविहीनहरुको पिर मर्काहरुलाई समाचार सामग्रीमा समेटिनुपर्छ’, उनीहरुको सुझाव छ।
प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले रासस जस्तो न्यूज एजेन्सीले समाचारमार्फत सरकारको प्रशंसा मात्र नभई उसको आलोचना पनि गर्नुपर्नेमा जोड दिए।
‘समाजमा देखिका विकृति, विसंगति, समस्या र समाधान बाटोहरु पनि सरकारलाई देखाउन जरुरी हुन्छ’, मन्त्री थापाले भने।
उनले गण्डकी प्रदेशका समृद्धिका आधारहरु पहिल्याएर समाचार सामग्री बनाउन अपिलसमेत गरे।
मन्त्री थापाले आग्रह गरे, ‘खेलकुदको माध्यममार्फत र खेलकुद पर्यटनमार्फत समग्र गण्डकी प्रदेशमा समृद्धि हासिल गर्न सकिन्छ। यहाँको पर्यटकीय संभावनाका बारेमा समाचार सामग्री बनाएर यहाँको प्रदेश सरकारलाई खबरदारी गर्नु संचारमाध्यम र संचारकर्मीहरुको प्रमुख दायित्व हुन्छ।’
शिक्षा नीति बनाएर प्रदेश सरकार अघि बढ्ने मन्त्री थापाले जानकारी दिए।
‘कमजोर शिक्षा नीतिका कारण देशको शैक्षिकस्तर खस्कदो छ। गण्डकी प्रदेश सरकारले विद्यालय शिक्षाको नयाँ ऐनमा जोड दिएको छ।
विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिनुपर्छ। राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्छ। प्राविधिक शिक्षालाई ऐनमै व्यवस्था गरिनुपर्छ। प्राविधिक शिक्षालाई आवासीय शिक्षाका रुपमा विकास गरिनुपर्छ’, उनले उल्लेख गरे।
‘सिक्दै, कमाउँदै, रमाउँदै’ मान्यतामा आधारित उद्यमशील शिक्षामा जोड दिनुपर्ने उनले औंल्याए।
उनको भनाई थियो, ‘अभिभावकीय शिक्षामा जोड दिउँ। विद्यार्थीले घरमा काम गरेको आधारमा पनि नम्बरिङको व्यवस्था गरिनुपर्छ।’
अग्रज पत्रकार नारायण कार्कीले राससलाई स्वायत्त संस्थाका रुपमा विकास गर्नुपर्नेमा जोड दिए।
रासस पोखराका पूर्व प्रमुख समेत रहेका कार्कीले यो न्यूज एजेन्सी प्रजातान्त्रिक र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा पनि उपेक्षित भएको उल्लेख गरे।
राससका पूर्व बोर्ड अध्यक्ष कोमलनाथ बरालले स्वयं रासस न्यूज एजेन्सी र राससकर्मीको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा गण्डकी प्रदेश रजिस्ट्रार विमला भण्डारी, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी, पोखरा पर्यटन परिषद अध्यक्ष तारानाथ पहारी, गुरुङ पर्यटन व्यवसायी बबरजंग गुरुङ र पत्रकार तथा संचारकर्मीहरुले राससको विकास, उन्नयन र सुधारबारे सुझाव राखेका थिए।
रासस पोखरा कार्यालयका प्रमुख वासुदेव पौडेलले राससको गतिविधिबारे प्रकाश पारे।
प्रमुख पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राससकर्मी जमुना वर्षा शर्माले स्वागत र राम थापाले कार्यक्रम संचालन गरेका थिए।