राससको वार्षिकोत्सवमा ६ विधामा १२ जनालाई पुरस्कार

वार्षिकोत्सवको अवसरमा राससले ३ सेवाग्राहीलाई सम्मान गरेको छ

जनसम्मत
फागुन ७, २०८१, बुधबार

न्यूज एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले संस्थाको ६४ औँ वार्षिकोत्सवका अवसरमा संस्थामा कार्यरत ६ विधामा १२ जनालाई पुरस्कार प्रदान गरेको छ।

काठमाण्डौंको भद्रकालीस्थित केन्द्रीय कार्यालयमा आज (बुधबार) आयोजित वार्षिकोत्सव समारोहमा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उनीहरुलाई पुरस्कार प्रदान गरे।

उत्कृष्ट सम्पादनतर्फको पुरस्कार अन्तर्राष्ट्रिय समाचार सम्पादन शाखाका सम्पादक दिलीपप्रसाद शर्मा र नेपाली समाचार सम्पादन शाखाका वरिष्ठ सम्पादन सहयोगी छविलाल कुमालले प्राप्त गरेका छन्।

उनीरूले जनही १० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरे।

उत्कृष्ट समाचार संकलनतर्फबाट भरतपुर कार्यालय प्रमुख नारायणप्रसाद अधिकारी र केन्द्रीय कार्यालयका समाचारदाता कालिका खड्कालाई पुरस्कार प्रदान गरेको छ।

उनीहरूले जनही १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे।

फोटो पत्रकार हरिराम भेटवालले उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार प्राप्त गरेका छन्।

त्यसैगरी, उत्कृष्ट जिल्ला समाचारदाताको पुरस्कार ललितपुरका माधवप्रसाद घिमिरे, कैलालीका तिलकराज ओझा र सुनसरीकी संगीता राईलाई प्रदान गरेको छ।

उनीहरुले जनही २० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरे।

उत्कृष्ट आलेख विधातर्फ झापाका विशेष समाचारदाता चन्द्रकला भण्डारी र सहायक सम्पादक टिकाराम सुनारलाई पुरस्कार प्रदान गरेको छ।

उनीहरुले प्रमाणपत्रका साथमा जनही १० हजार रुपैयाँ नगद पुरस्कार हात पारे।

पत्रकार भण्डारीको गत जेठ ३० गते प्रकाशित ‘बढ्दैछ आत्महत्याको कहर, छैन रोकथामको चासो’ र सुनारको मंसीर २१ गते प्रकाशित ‘मनोरञ्जन क्षेत्रमा हिंसा, रंगीन क्षेत्र नै रंगहीन’ शीर्षकका आलेख उत्कृष्ट भएको थियो।

उत्कृष्ट कर्मचारीतर्फको पुरस्कार केन्द्रीय कार्यालयका कार्यालय सहयोगी राजिनन साह र मधेस प्रदेश कार्यालय जनकपुरका कार्यालय सहयोगी सूर्यप्रसाद बरालले प्राप्त गरेका छन्।

उनीहरुले जनही नगद १० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरे।

नायब महाप्रबन्धक तथा समाचार महाशाखा प्रमुख सोमनाथ लामिछानेको संयोजकत्वमा गठित पुरस्कार छनोट सिफारिस उपसमितिको सिफारिसलाई संचालक समितिले अनुमोदन गरी पुरस्कार प्रदान गरेको हो।

राष्ट्रिय समाचार समिति (रासस) ले ६४ औँ वार्षिकोत्सवका अवसरमा ३ सेवाग्राहीलाई सम्मान गरेको छ।

सेवाग्राही सम्मान पाउनेहरुमा सार्वजनिक सेवा प्रसारण संस्था (नेपाल टेलिभिजन), अनलाइन खबर डटकम र पोखरास्थित समाधान दैनिक छन्।

त्यसैगरी, नेपाल राष्ट्रिय कर्मचारी संगठन राससबाट वितरण हुने ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार–२०८१’ बाट अंग्रेजी शाखाका कार्यकारी

सम्पादक मनोज कार्की र फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठलाई पुरस्कार प्रदान गरेको छ।

उक्त पुरस्कारको राशी जनही ७ हजार ५ सय रुपैयाँ नगद रहेको छ।

रासस कर्मचारी संघबाट वितरण हुने ‘वासु रिमाल यात्री स्मृति पुरस्कार–२०८१’ बाट रासस कोशी प्रदेशका कार्यालय विराटनगरका वरिष्ठ समाचारदाता मोहम्मद सदरुल र रासस केन्द्रीय कार्यालयका सहायक मैना थापालाई प्रदान गरेको छ।

उनीहरुले जनही ७ हजार ७७७ रुपैयाँ नगद र प्रमाणपत्र पुरस्कार प्राप्त गरे।

नेपाल पत्रकार महासंघबाट वितरण हुने ‘रासस पत्रकारिता पुरस्कार–२०८१’ बाट नेपाली समाचार सम्पादन शाखाका सहायक सम्पादक विक्रम गिरी र फोटो सम्पादन शाखाका फोटो सम्पादक किरण भट्टराईलाई प्रदान गरेको छ।

उनीहरुले जनही १० हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरे।